माओवादी लडाकू समायोजनमा नयाँ विवाद उत्पन्न भएपछि प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त रुपमा दुई मुख्य विपक्षी दलसँग सहमतिको नयाँ प्रयास थालेका छन्।
समायोजनको कार्ययोजना बनाउने जिम्मा दिइएको विशेष समिति सचिवालयमा माओवादी प्रतिनिधिको प्रस्तावमा विवाद देखिएपछि प्रधानमन्त्री भट्टराई विशेष समिति बैठक स्थगित गरी प्रचण्डलाई साथ लिइ त्यस्तो प्रयासमा लागेका हुन्।
त्यसक्रममा उनीहरुले कांग्रेससँग छलफल गरेका छन्।
छलफलमा सहभागी कांग्रेस नेता तथा विशेष समिति सदस्य मिनेन्द्र रिजालका अनुसार बैठकमा कुनै ठोस सहमति भएन।
रिजालले भने, “समायोजन प्रकृयालाई छिटो शुरु गरी निर्वाध अगाडि बढाउन के गर्न सकिन्छ भन्नेबारे हामीबीच एकअर्काको धारणा सुन्ने र सुनाउने काम भयो।”
तर सचिवालयमा कार्ययोजनालाई लिएर मतभेद उत्पन्न भएको छ।
सचिवालय सदस्य दिपकप्रकाश भट्टको भनाइ थियो, “माओवादी प्रतिनिधिले मापदण्ड, दर्जा र छनौट प्रकृयाबारे सात बुँदेभन्दा बाहिर गई प्रस्ताव गरेपछि कार्ययोजनामा सहमति हुन सकेको छैन।”
उनका अनुसार बाँकी सदस्यहरुबीच कार्ययोजनामा सहमति भइसकेको र माओवादी सदस्यलाई फरक राख्ने भए त्यो पनि संगै पठाउने बताइएको थियो।
तर उनीहरुले पार्टी नेतृत्वसँग कुरा गरेर निर्णय लिने बताएको भट्टले जनाए।
समितिको बैठक नै स्थगित भएपछि सचिवालयले कार्ययोजना पेश गर्नु नै परेन।
समयसीमा अत्यन्तै साँघुरिएकाले लडाकू समायोजनाको अन्तिम प्रकृया थाल्न माओवादी नेतृत्वले पछिल्लो पटक निर्णायक प्रयास थालेको विश्लेषकहरुको ठम्याइ छ, जसको सफलतामा नै नयाँ संविधानको भविष्य निर्भर हुनेछ।



