
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी क्लवले मेगा बैंक फोटो प्रतियोगिता तथा प्रदर्शनी को दोस्रो संस्करण सुरु गर्ने घोषणा गरेको हो । ‘विभिन्न क्षेत्रबाट सयौं फोटो जम्मा गर्ने व्यावसायि फोटोपत्रकार र सौखिन फोटोग्राफरको लागि यो सबैभन्दा ठूलो खुल्ला प्रतियोगिता हुनेछ,’ क्लवको विज्ञप्तीमा छ ।
प्रतियोगितामा टुरिजम, वाइल्ड लाइफ एन्ड नेचर, डेली लाइफ, न्यूज फोटो र फोटो स्टोरी गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । न्युज फोटो विधामा २०६७ सालभरि खिचिएका तस्बिरहरूले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् । अन्य विधामा जहिलेसुकै खिचिएका तस्बिरहरू पठाउन सकिने क्लवले जनाएको छ ।
अहिलेसम्मकै सर्वाधिक धनराशीको पुरस्कार राखिएको प्रतियोगितामा पाँचैाँ विधामा प्रथम, द्वितीय र तृतीय विजेता छनोट गरिने बताइएको छ । प्रतियोगी फोटाबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट ‘मेगा बैंक फोटो अफ द इयर’ विजेतालाई नगदसहित १ लाख रुपैयाँ बराबर पुरस्कार पाउने क्लवको विज्ञप्तीमा छ । यसैगरी प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगदसहित क्रमशः ३०, २० र १० हजार रुपैयाँबराबर पुरस्कार पाउने बताइएको छ ।
प्रतियोगिताबाट उत्कृष्ट छानिएका १५० फोटोहरूलाई वैशाख २९ देखि जेठ २ गतेसम्म बबरमहलको आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिनेछ । उक्त तस्बिरहरू नेपालका प्रमुख चार शहर विराटनगर, पोखरा नेपालगञ्ज र धनगढी/दिपायलमा प्रदर्शन गरिने योजना रहेको क्लवले जनाएको छ ।



