माओवादीको विवाद चरम अवस्थामा, दुवै पक्षबीच आपसमा भ्रष्टाचारी, राष्ट्रघाती तथा अराजक भन्दै आरोप-प्रत्यारोपको क्रम बढ्दो

कालिकोट  – जिल्लामा माओवादीको विवाद चरम अवस्थामा पुगेको छ । दुवै पक्षबीच आपसमा भ्रष्टाचारी, राष्ट्रघाती तथा अराजक भन्दै आरोप-प्रत्यारोपको क्रम बढ्दो छ । पार्टी कार्यालय एउटै भए पनि दुवै पक्षका नेताले सम्पर्क कार्यालय छुट्टाछुट्टै बनाएका छन् ।

माओवादीको ३ सय ३३ सदस्यीय जिल्ला संगठनमा प्रचण्ड पक्षले शुक्रबारदेखि मान्मस्थित जिविस हलमा सञ्चालन गरेको अनौपचारिक बैठकमा २ सय ३२ जना उपस्थित थिए । राज्य समिति सहसेक्रेटरी भरत बमको उपस्थितिमा जिल्ला इन्चार्ज एटम र सहइन्चार्ज आदर्शले अर्को पार्टी बनाएपछि आफूहरूले बाध्य भएर जनता र कार्यकर्ताको मनोबल बढाउन बैठक तथा प्रशिक्षणको आयोजना गरेको जिल्ला सेक्रेटरी दुर्गबहादुर रावलले बताए । उनका अनुसार माओवादीको गत वर्षको फागुनयता जिल्ला कमिटीको बैठक नबसेकाले पार्टीको आधिकारिक विचार र धारणाबारे कार्यकर्ता र जनपंक्तिमा स्पष्ट पार्न बैठकको आयोजना गरिएको हो । बैठकमा माओवादी केन्द्रीय सदस्य तथा भेरी-कर्णाली राज्य समिति सेक्रेटरी डीआर पौडेलले कार्यकर्तालाई प्रशिक्षण दिएका छन् ।

जिल्लास्तरमा अन्य निकायद्वारा आयोजना हुने कार्यक्रममा आफू आधिकारिक हुँ भन्दै दुवै पक्ष झगडा गर्न जाने गरेको एमाले उपाध्यक्ष नगिन्द्र शाहीले बताए । वैद्य पक्षको मूल नेतृत्व रहेको कालिकोटमा प्रचण्ड-बाबुराम पक्षमा जिल्लास्तरका नेता-कार्यकर्ताको बहुमत छ । माओवादी पोलिटब्युरो सदस्य तथा भेरी-कणर्ाली राज्य समिति इन्चार्ज खड्कबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य एवं राज्य समिति सहसेक्रेटरी भरत बम, सभासद धीरेन्द्र उपाध्याय, जिल्ला इन्चार्ज एटम बीसी, सहइन्चार्ज धनजित शाही, पूर्व जिल्ला जनसरकार प्रमुख कर्णबहादुर भण्डारीलगायतका नेता वैद्य पक्षमा रहे पनि जिल्ला संगठन समितिमा प्रचण्ड पक्षको बहुमत रहेको हो ।

प्रचण्ड पक्षमा माओवादी सेनाको सातौं डिभिजन कमान्डर महेन्द्रबहादुर शाही प्रज्ज्वल, बि्रगेड कमान्डर गोविन्द बटाला, जिल्ला सेक्रेटरी दुर्गबहादुर रावल, भेरी कणर्ाली राज्य समिति सदस्य अनिपाल शाही, दानबहादुर बोगटी क्षितिज, अनेरास्ववियुका केन्द्रीय महासचिव विन्दमान विष्ट, वाईसीएल सचिवालय सदस्य दुर्गप्रसाद अधिकारीसहितका नेता छन् ।

पार्टी केन्द्रको नीतिअनुसार फुटको दोष नलिन आफूहरूले अलग जिल्ला कमिटी घोषणा नगरेको राज्य समति सदस्य अनिपाल शाहीले बताए । ‘हामीले पार्टी हेडक्वाटरको निर्देशनअनुसार छुट्टै जिल्ला कमिटी बनाएनौं,’ शाहीले कान्तिपुरसँग भने, ‘आफ्नै दलका प्रधानमन्त्रीको पुतला दहन गर्ने र पार्टी अध्यक्षविरुद्ध नाराबाजी गर्ने अराजक काम वैद्य समूहबाट भइरहेको छ ।’ उनले थपे, ‘तैपनि हामीले संयम अपनाएर कारबाही गरेका छैनौं ।’ उनले वैद्य पक्षले सरकार र पार्टी नेतृत्वको विरोध गरे पनि जिल्लास्तरमा पार्टीका तर्फबाट प्रतिनिधित्व गरेर फाइदा लिन पाइने ठाउँ इन्चार्ज एटम बीसीले नछाडेको बताए । पार्टी केन्द्रीय सदस्य भरत बमको उपस्थितिमा वैद्य पक्षले पूर्व जिल्ला जनसरकार प्रमुख कर्णबहादुर भण्डारीलाई सेक्रेटरी बनाएर छुट्टै जिल्ला कमिटी गठन गरिसकेको छ । मुर्मामा उपाध्यक्ष वैद्य समूहले भेला गरी संस्थापन पक्षविरुद्ध भण्डाफोर अभियान चाल्ने निर्णय गरेको छ । भेलामा वैद्यपक्षीय समानान्तर सेक्रेटरी भण्डारीले शान्ति र संविधानका लागि जनतालाई जगाउन आएको बताए ।

वैद्य पक्षले आइतबार पत्रकार सम्मेलन गरी जिल्ला इन्चार्ज एटम बीसीले उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईले कणर्ाली बेचेर राष्ट्रघात गरेको र अध्यक्ष प्रचण्डले जनमुक्ति सेनालाई आत्मसमर्पण गराएको आरोप लगाए । उनले भारतबाट ल्याएको संविधान जारी हुन थालेको बताउँदै जनसंविधान नबने आफूहरूले संविधान जलाउने चेतावनी दिए ।

सल्यानमा छुट्टाछुट्टै कार्यक्रम

सल्यान- नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा माओवादीका दुई समूहले छुट्टाछुट्टै कार्यक्रम गरेका छन् ।

उपाध्यक्ष मोहन वैद्य पक्षधरका नेता तथा कार्यकर्ताहरूले लुहाम, सल्लीबजार र बडागाउँमा कार्यक्रम गरे भने अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले केन्द्रीय नेता तथा वाम बुद्धिजीवीको उपस्थितिमा सदरमुकाम खलंगामा बृहत् अन्तरक्रिया गरे ।

माओवादी पोलिटब्युरो सदस्य हेमन्तप्रकाश वलीले मुलुक संघीय राज्यमा गए जातीय समस्या समाधान हुने दाबी गरे । पार्टीभित्र विजातीय विचारधारा घुसेकै कारण पार्टी आन्तरिक किचलोमा फसेको उनको दाबी छ ।

बर्दियामा वैद्य समूहको नयाँ कमिटी

गुलरिया- माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षले ८१ सदस्यीय समानान्तर कमिटी सार्वजनिक गरिएको छ ।

दुर्गा चौधरी ‘सन्तोष’ इन्चार्ज रहेको कमिटीमा अन्य सदस्य भने जिल्ला कमिटीकै हुन् । उनी माओवादीका छैटौं डिभिजन दशरथपुर सुर्खेतका पूर्वसहायक कमान्डर हुन् । बाँकेका चौधरी स्वैच्छिक अवकाश लिएका उनलाई इन्चार्जको जिम्मा दिइएको नवगठित समिति सचिव द्रव्य शाहले बताए । माओवादी संस्थापनमा झन्डै तीन सय सदस्यीय कार्यसमिति सदस्य रहेको स्रोतले जनायो । वैद्य समूहले गठन गरेको सदस्यबाहेक संस्थापन पक्षका करिब ३० जना सदस्य निष्त्रिmय छन् भने केही तटस्थ । पार्टीमा छैटौं डिभिजनबाट अवकाश लिएका झन्डै चार सय पूर्वलडाकु भएका कारण चौधरीलाई इन्चार्ज दिइएको वैद्य पक्षधरले बताए । – –कान्तिपुर