
काठमाडौं, २५ असार । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले अवितरित हकप्रद सेयर पुनः बिक्रीका लागि आजदेखि बोलकबोल प्रक्रिया खुला गरेको छ। यसअघि हकप्रद सेयर लिलामीमा बिक्री हुन नसकेको संस्थापक समूहको ६३ हजार ८४७ कित्ता सेयर प्रतिस्पर्धात्मक बोलपत्रमार्फत बिक्रीमा राखिएको हो।
कम्पनीका अनुसार यस पटकको बोलकबोलमा व्यक्ति, कम्पनी तथा संघ–संस्थासहित योग्य सबै लगानीकर्ताले सहभागिता जनाउन सक्नेछन्। प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ भने कम्तीमा १०० कित्ता र बढीमा बिक्रीमा रहेको सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।


बोलपत्र आवेदन लक्ष्मी सनराइज क्यापिटल लिमिटेड तथा लक्ष्मी सनराइज बैंक लिमिटेड का तोकिएका शाखा कार्यालयमार्फत पेश गर्न सकिनेछ। आवेदन विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढीस्थित शाखाबाट पनि बुझाउन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले इच्छुक लगानीकर्तालाई साउन १ गतेभित्र बोलपत्र पेश गरिसक्न आग्रह गरेको छ। त्यसपछि प्राप्त बोलपत्रका आधारमा लिलामी प्रक्रिया टुंग्याइने जनाइएको छ।




