सरकारमा सहभागी हुने नेताहरूको नाम नेकपा एमालेले नदिएपछि नयाँ मन्त्रिमण्डल शनिबार गठन गर्ने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अघिल्लो राती भएको सहमति अनुसार नयां मन्त्रिमण्डल बनाउन एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शुक्रबार साँझ छलफल भएको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले भने, “मधेसी मोर्चाले पनि मन्त्रीको सूची लगेको थियो, एमालेले समय मागेपछि कांग्रेसले नाम दिएन र शनिबार दिउँसो बैठक गरी पाँच बजे सपथ गराउने सहमति भएको छ।”
माओवादीले अहिलेलाई उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव पोष्टबहादुर बोगटीलाई सरकारमा पठाउने निर्णय गरेको छ।
तर कुनै निर्णय नगरी बैठक आइतबारसम्मका निम्ति स्थगित भएको छ।
सचिव शंकर पोखरलले भने, “हाम्रो पार्टीमा सरकारमा जान नहुने मत नै बढी देखियो, छलफल चलिरहेकाले त्यसबारे यसै भन्न सकिन्न।”
उनले शनिबारसम्म आफ्नो पार्टीले सरकारमा सहभागी हुनेको नाम दिने सम्भावना देखेका छैनन्।
उनले भने, “सपथको निम्ति राष्ट्रपतिसँग समय लिइसकिएकाले शनिबार सानो मन्त्रिमण्डल बन्छ, त्यो पछि पनि विस्तार गर्न सकिन्छ।”
माओवादी भित्रैकै असन्तुष्ट समूहले भने आफ्नै पार्टी उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सरकारमा नजाने निर्णय गरेको छ।
यसैबीच माओवादी उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले एउटा विज्ञप्ती जारी गर्दै चार राजनीतिक शक्तिबीचको पाँच बुँदे सहमतिको कडा विरोध गरेका छन्।



