काठमाडौं – राज्य पुनर्संरचनामा केन्द्रित दलहरुको छलफल बुधबार मध्यरातमा पनि सहमतिमा पुग्न सकेन । बैठकबाट बाहिरिएका नेताहरुले एक अर्कालाई आरोप लगाउँदै निस्किए ।
माओवादी र मधेसवादीले कांग्रेस-एमालेले एकल पहिचानलाई स्वीकार नगरेको आरोप लगाए भने कांग्रेस-एमालेले माओवादी र मधेसवादीले जातीय विखण्डन ल्याउनेगरी संघीयता खोजेको भन्दै रुष्ट भए ।
एमाले उपाध्यक्ष बामदेव गौतमले माओवादी र मधेसवादीलेले मुलुकमा एउटा जातिलाईमात्र पहिचान मानेर विखण्डन ल्याउन लागेको आरोप लगाए । उनले कांग्रेस-एमालेले बहुजातीय प्रदेशको बटमलाइन प्रस्तुत गरेको बताए ।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सहमति नबिथोलिएको भन्दै बिहीबार बिहान पुनः छलफल गर्ने बताए । ‘केही बिग्रिएको छैन भोलि बिहान फेरि बस्छौं,’ उनले भने ।
माओवादी नेता वर्षमान पुनले संख्याभन्दा पनि पहिचानका विषयमा सहमति नभएको बताए । दिउँसो ५ बजेदेखि सुरु भएको बैठक राति पौने १२ बजे सकिएको थियो ।
बिहिबार बिहान सम्ममा सहमति नभए दिउसो शुरु हुने संविधानसभाको बैठक मार्फत विवादित विषयहरूलाई मतदान प्रक्रियामा लैजाने र त्यहाँबाट समाधान खोज्ने नेताहरुले बताए।
संविधानका विवादित विषय समेटिएको सूची संबैधानिक समितिले आफ्ना सदस्यहरुलाई उपलब्ध गराएको छ।
संघीय ढाँचा र शासकीय स्वरुप लगायत संविधानका एकसय सत्रवटा विवादित विषयमा सहमति जुटाउने भन्दै संविधानसभाका बैठकहरु पटक पटक सार्न बाध्य पार्दै आएका प्रमुख दलका शीर्ष नेताहरु मतदान प्रक्रियामा जान सहमत भएका हुन्।



