अर्घाखाँची डटकम २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश, सत्य–तथ्य र जनपक्षीय पत्रकारिताको यात्रा निरन्तर रहने प्रतिबद्धता

अर्घाखाँची। डिजिटल सञ्चारको क्षेत्रमा निरन्तर क्रियाशील अर्घाखाँची डटकमले आफ्नो गौरवपूर्ण यात्राको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ।

विसं २०८३ साल साउन २६ गते अर्घाखाँची डटकमले दुई दशक लामो यात्रा पूरा गरेको हो। सन् २००६ अगस्ट ११ बाट आधिकारिक वेबसाइटमार्फत आफ्नो सञ्चार यात्रा सुरु गरेको अर्घाखाँची डटकमको प्रारम्भिक यात्रा भने सन् १९९८ मा ब्लगका रूपमा सुरु भएको थियो।

दुई दशक लामो यात्रामा अर्घाखाँची डटकमले सत्य, तथ्य, निष्पक्ष र जनपक्षीय पत्रकारितालाई मूल आधार बनाउँदै देश तथा विदेशमा रहेका नेपाली समुदायमाझ आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ।

यस अवसरमा अर्घाखाँची मिडिया हाउस प्रा.लि.का संस्थापक अध्यक्ष, सञ्चालक तथा प्रबन्ध निर्देशक मेहर सिंह के.सी.ले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण पाठक, दर्शक, स्रोताहरू, शुभचिन्तक, विज्ञापनदाता, पत्रकार, संवाददाता तथा सहयोगीप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभएको छ।

उहाँले दुई दशकको यात्रामा अर्घाखाँची डटकमले कुनै राजनीतिक दल, समूह वा स्वार्थभन्दा माथि उठेर जनताको आवाजलाई प्राथमिकता दिँदै निष्पक्ष पत्रकारिताको अभ्यास गर्दै आएको बताउनुभयो।

“दुई दशकको यो यात्रा हाम्रो मात्र नभई सम्पूर्ण पाठक, दर्शक र शुभचिन्तकहरूको साझा यात्रा हो। यहाँहरूले दिनुभएको माया, विश्वास र साथले नै हामीलाई अझ जिम्मेवार भएर अघि बढ्ने प्रेरणा दिएको छ,” प्रबन्ध निर्देशक के.सी.ले भन्नुभयो।

उहाँले आगामी दिनमा डिजिटल पत्रकारिता, मल्टिमिडिया सामग्री तथा आधुनिक प्रविधिको प्रयोगमार्फत सञ्चार सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

हाल अर्घाखाँची मिडिया हाउस प्रा.लि. अन्तर्गत अर्घाखाँची डटकम अनलाइन न्युज पोर्टल,(English /Nepali version),  अर्घाखाँची डटकम राष्ट्रिय साप्ताहिक, द टाइम्स अफ अर्थ नेपाल (नेपाल संस्करण), अर्घाखाँची डटकम HD ,arghakhanchi.comHD, तथा विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत नियमित समाचार तथा सूचना सम्प्रेषण हुँदै आएको छ।

अर्घाखाँची डटकमले आगामी दिनमा पनि देशका विभिन्न क्षेत्र, जिल्ला तथा दुर्गम स्थानमा रहेका नागरिकका आवाजलाई प्राथमिकता दिँदै सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्ने प्रतिबद्धता जनाएको छ।

images

२० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको अवसरमा अर्घाखाँची डटकम परिवार सम्पूर्ण पाठक, दर्शक, शुभचिन्तक तथा सञ्चारकर्मीहरूमा हार्दिक धन्यवाद एवं शुभकामना व्यक्त गर्दछ।

images

मेहर सिंह के.सी.
संस्थापक अध्यक्ष, सञ्चालक तथा प्रबन्ध निर्देशक
अर्घाखाँची मिडिया हाउस प्रा.लि.
(अर्घाखाँची डटकम)