एउटा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नियतबस माओवादीले संविधानसभा भंग गराएको आरोप लगाएको छ।
माओवादीले संविधानसभालाई आफ्नो चाहना बमोजिमको सत्ता निर्माणका लागि रणनीतिका रुपमा उपयोग गरेको कांग्रेसको ठहर छ।
माओवादीले कुनै पनि विकल्प बाँकी नरहेपछि चुनाव गरेको बताएपनि प्रधानमन्त्री बाबुराम भट्टराईले जेठ १४ अघि नै निर्वाचनबारे वकिलहरुसँग परामर्श गरेको नेपाली कांग्रेसले औंल्याएको छ।
त्यो प्रसंग र संविधानसभा भंग भइसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश गरेको र अब दुई तिहाइ ल्याएर आफूले चाहेजस्तो जनसंविधान जारी गर्ने’ भनी राखेको भनाइलाई आफूले एकसाथ राखेर हेरेको पनि सो दलले जनाएको छ।
कांग्रेस मुख्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्ती पढ्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने,”संविधानसभा माओवादीको वास्तविक एजेन्डा थिएन फगत रणनीतिकमात्र थियो। संविधानसभाको समय समाप्त नहुँदै निवार्चन घोषणा गर्न पुग्नुले पनि संविधानसभा समाप्त गर्ने पूर्व नियोजित षडयन्त्र थियो भन्ने स्पष्ट भएको छ।”
माओवादीले भने संविधानसभा भंग हुनुको दोष कांग्रेस एमालेमाथि लगाउँदै आएको छ।
संविधान निर्माणका मुद्दाहरुमा प्राय एकठाउँ रहँदै आएका कांग्रेस र एमाले दुवै दलले विकसित परिस्थितिको समाधानको बाटो राष्ट्रिय सहमतिको सरकार गठन मार्फत हुनुपर्ने बताएका छन्।
उनीहरुले दवाव स्वरुप विरोधका कार्यक्रम समेत सार्वजनिक गरिसकेका छन्। RSS



