काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष अशोक राईलगायतका असन्तुष्ट नेताहरुले आफूहरु आजबाट सुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी नहुनुका विभिन्न कारण र अडान सार्वजनिक गरेका छन्। उनले आफूहरुले अघि सारेको नौ वुँदे माग लत्याइएकोसमेत आरोप लगाएका छन्।
यसैगरी, सोलुखुम्बु जिल्ला कमिटी उपसचिव आङकाजी शेर्पालाई स्थायी कमिटीको निर्णयबाट पार्टी सदस्यबाट समेत हटाइएकामा उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गरिएको छ।
उपरोक्त मुद्दालाई सम्बोधन नगरिए राष्ट्रिय भेला र पार्टीका आगामी कार्यक्रम र बैठकहरु बहिष्कार गर्ने आफूहरुले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
एमालेको राज्य पुनःसंरचनाको विषयमा पार्टीले पुरानो नीति त्यागेको भन्दै केही आदिवासी जनजाति र मधेसी नेताहरुले असन्तोष जनाउँदै आएको छ। -रासस



