
-केशव राज ज्ञवाली, अर्घाखाँची ।
सन्धिखर्क, अर्घाखाँची ।नेपाली काङ्ग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत अर्घाखाँची जिल्लाका ६१ वटै वडामा हुन गइरहेको वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले तोकेको संशोधित कार्यतालिका अनुसार यही असोज ३ र ४ गते जिल्लाका सबै वडाहरूमा एकैसाथ अधिवेशन सम्पन्न गर्ने गरी आन्तरिक व्यवस्थापनलाई तीव्र पारिएको हो।

काङ्ग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीका अनुसार, केन्द्रबाट खटिएकी जिल्ला निर्वाचन अधिकृत अञ्जु रेग्मीको नेतृत्वमा जिल्लाका ६१ वटै वडामा मतदान अधिकृत र सहायक कर्मचारीहरू खटाउने कार्य अन्तिम चरणमा पुगेको छ। अधिवेशनलाई पारदर्शी, व्यवस्थित र उत्साहजनक बनाउन जिल्ला नेतृत्व, महाधिवेशन प्रतिनिधि र स्थानीय नेताहरू यतिबेला गाउँ-गाउँमा खटिएका छन्।


केन्द्रको कडा निर्देशन: तोकिएकै मितिमा अधिवेशन हुनेकाङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले स्थानीय परिस्थितिको मूल्याङ्कन गरी असोज ३ र ४ गते नै वडा अधिवेशन सम्पन्न गर्न कडा निर्देशन दिएको छ। कुनै पनि बहानामा निर्वाचनको मिति नसर्ने र विधिको शासन एवं संवैधानिक बाध्यतालाई आत्मसात् गर्दै तोकिएकै समयमा अधिवेशन गर्न केन्द्रले मातहतका सबै निकायलाई परिपत्र गरिसकेको छ।
यसका साथै केन्द्रले यस पटकको निर्वाचन प्रक्रियालाई थप व्यवस्थित बनाउन डिजिटल प्रविधिको प्रयोग र विभिन्न समुदायको न्यायोचित प्रतिनिधित्वका लागि समावेशी व्यवस्थालाई अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ।






