काठमाडौं, २२ असार जातीय मुद्दामा रहेका एमालेका नेताहरु र पार्टी नेतृत्वबीचको विवाद झन बढ्ने भएको छ । बिहीबार अनुशासन आयोगले एक हप्ताभित्र स्पष्टीकरण दिनु पर्ने निर्णय गरेपछि उक्त विवाद झन बढ्ने भएको हो ।
आफ्ना असन्तुष्टीहरु राख्दा अनुशासन आयोगबाट स्पष्टीकरण सोध्ने कुराले झन विवाद बल्झाएको पोलिटब्यूरो सदस्य रामचन्द्र झाले ओएनएससँगको कुराकानीमा बताए ।
आफ्ना असन्तुष्टीका विषयमा नेतृत्व तह जबरजस्ती पेलेर जान खोजेको झाको भनाइ छ । नेतृत्व तहले समन्वय गरेर जाने ठाउँमा झन एकलौटी हिड्न लागेको र त्यसले आफूरुलाई चिन्तित बनाएको झाले बताए ।
स्पष्टीकरण सोध्ने भन्ने कुरा पनि आफूहरुले सञ्चार माध्यमबाट जानकारी पाएको भन्दै आफूहरुले पनि त्यसको जवाफ त्यसैगरी फर्काउने झाको भनाइ छ । स्पष्टीकरण सोध्नेबारेमा आफूहरुले आज दिउँसो आफ्नो पक्षबीच छलफल गर्ने झाले बताए ।
नेतृत्व तहले कुरा नबुझे के हुन्छ, भन्ने नसकिने झाको भनाइ छ ।



