
फनोम पेन्हमा आयोजित साइबर ठगी विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले सीमापार साइबर अपराधको जालो तोड्न विश्वव्यापी समन्वय अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले साइबर ठगी कुनै एक देशको समस्या मात्र नभई क्षेत्रीय तथा विश्वव्यापी संकट भएको बताउँदै यसलाई नियन्त्रण गर्न सामूहिक प्रतिवद्धताको आवश्यकता औंल्याएका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मानेटले कम्बोडिया कुनैपनि हालतमा साइबर अपराधीहरूको ‘सुरक्षित आश्रयस्थल’ बन्न नदिने दृढता व्यक्त गरे। उनले देशको आर्थिक विकास र नागरिकको हितलाई असर पु¥याउने आपराधिक गिरोहलाई निमिट्यान्न पार्न सरकारले आक्रामक कदम चालेको जानकारी दिए ।


तथ्यांकअनुसार, सन् २०२५ को जुलाईदेखि २०२६ को अगस्टसम्मको अवधिमा कम्बोडियाले ६६३ अनलाइन स्क्याम साइटहरू बन्द गरेको छ, जसमा ८६ वटा ठूला स्तरका स्क्याम कम्पाउन्डहरू रहेका छन् । यी कारबाहीका क्रममा ३८ विभिन्न देशका २२ हजारभन्दा बढी विदेशी नागरिकलाई निष्कासन गरिएको छ ।

संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयका अनुसार पूर्वी एशिया, अस्ट्रेलिया र न्युजिल्याण्ड क्षेत्रमा मात्रै साइबर ठगीबाट वार्षिक ११४ अर्ब अमेरिकी डलर बराबरको क्षति हुने गरेको छ । इन्टरपोलका प्रतिनिधि निकोलस कोर्टले यो खतरा निरन्तर बढिरहेको भन्दै सबै सरोकारवाला निकायहरूबीच गम्भीर र दीर्घकालीन सहकार्यको खाँचो औंल्याए । विशेषज्ञहरूले अपराधीहरूले अत्याधुनिक प्रविधि र ठूलो आर्थिक प्रलोभनको प्रयोग गरिरहेको भन्दै परम्परागत अनुसन्धान विधिले मात्र यो अपराध रोक्न नसकिने चेतावनी दिएका छन् । रोयल एकेडेमी अफ कम्बोडियाका किन् फेयाले ‘फलो द मनी’ अर्थात् पैसाको स्रोत पत्ता लगाउने रणनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । यसका लागि वित्तीय खुफिया सूचनाको आदानप्रदान, शंकास्पद सम्पत्ति रोक्का, जफत र बैंकिङ तथा डिजिटल भुक्तानी प्लेटफर्महरूसँगको गहिरो सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।




