राष्ट्रसंघमा प्रधानमन्त्री शाहले कुन समयमा सम्बोधन गर्दैछन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई आज रातिको सत्रमा सम्बोधन गर्दैछन् ।

राष्ट्रसंघले सार्वजनिक गरेको कार्यतालिका अनुसार न्यूयोर्क समयअनुसार २४ सेप्टेम्बर २०२६, बिहीबार दिउँसो ३ बजेदेखि शुरु हुने सत्रमा बोल्ने पालो छ । जुन नेपाली समयअनुसार यो सत्र शुक्रबार मध्यरात पौने १ बजेदेखि शुरु हुनेछ । नेपालको पालो दोस्रो सेसनको १७औं स्थानमा रहेको छ, जसअनुसार प्रधानमन्त्री शाहको पालो नेपाली समयअनुसार भोलि बिहान ४ बजेदेखि साढे ४ बजेको आसपास मात्र आउने देखिन्छ ।

प्रधानमन्त्री शाहले त्यसअघि राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस भ्रमणमा उनको अन्य भेटवार्ताको कुनै कार्यक्रम तय नभएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । महासभाको सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक वेव टिभीको लिंक webtv.un.org मा प्रत्यक्ष प्रशारण हुनेछ ।

महासभामा परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका प्रतिनिधिहरुसँग साइडलाइन भेटवार्ता गरिरहेका छन् । प्रधानमन्त्री शाह भने सम्बोधन पछि तुरुन्तै स्वदेश फर्किने कार्यतालिका रहेको छ ।