वार्नर ब्रदर्स र प्यारामाउन्टबीच ११० अर्ब डलरको विशाल सम्झौतासहित मर्जर

काठमाडौँ, ९ । प्यारामाउन्ट स्काइडान्सले प्रस्तावित वरिष्ठ सुरक्षित वृद्धिशील अवधि “बी” ऋण मार्फत ७.५ अर्ब डलर जुटाउन बिहीबारदेखि सिन्डिकेशन सुरु गरेको जनाएको छ।

डेभिड एलिसनको नेतृत्वमा रहेको यस कम्पनीले उक्त रकम १११ अर्ब डलरको वार्नर ब्रदर्स डिस्कभरी सँगको मर्जर तथा आफ्ना केही पुराना ऋणहरू चुक्ता गर्न प्रयोग गर्नेछ।

कुल मिलाएर प्यारामाउन्टले (बजार तथा अन्य सर्तहरूको अधीनमा रही) पहिले घोषणा गरिएको वित्तपोषणबाहेक थप करिब ४४.४ अर्ब डलर बराबरको सुरक्षित ऋण जुटाउने लक्ष्य राखेको छ।

“प्यारामाउन्टले यी ऋणबाट प्राप्त हुने खुद रकम, आफूसँग भएको नगद र यसअघि घोषणा गरिएको इक्विटी फाइनान्सिङबाट प्राप्त रकमको उपयोग ‘वार्नर ब्रदर्स डिस्कभरी, इन्क.’ को अधिग्रहणका लागि तय गरिएको खरिद मूल्य भुक्तानी गर्न र विद्यमान ऋण चुक्ता गर्न गर्नेछ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मङ्गलबार सार्वजनिक भएको मोर्गन स्टेनलीका विश्लेषकहरूको एक प्रतिवेदनअनुसार सन् २०२६ को अन्त्यसम्ममा ‘प्यारामाउन्ट’ र ‘वार्नर ब्रदर्स’ को मर्जरपछि बन्ने संयुक्त कम्पनीको खुद ऋण ७७.२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। प्यारामाउन्टले लिन खोजिरहेको थप ऋणका कारण यो अनुमान अझ बढ्न सक्ने सम्भावना छ।

‘वार्नर ब्रदर्स डिस्कभरी’ सँगको मर्जर सम्झौताविरुद्ध दायर गरिएको ‘एन्टिट्रस्ट’ (एकाधिकार विरोधी) मुद्दामा १२ राज्यका महान्यायाधिवक्ताहरूसँग सहमति कायम भएसँगै प्यारामाउन्टको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यस मुद्दा हेर्ने न्यायाधीशले प्रस्तावित ‘सहमति आदेश’ का बुँदाहरूमाथि छलफल गर्न बिहीबारका लागि सुनुवाइ तोकेका छन्। न्यायाधीशको स्वीकृति प्राप्त भएपछि दुवै कम्पनीबीचको मर्जर प्रक्रिया करिब दुई साताभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।

यसैबिच, प्यारामाउन्ट र डब्लुबीडी बिचको मर्जर रोक्ने अन्तिम प्रयासस्वरूप ‘ब्लक द मर्जर’ गठबन्धनमा आबद्ध समूहहरूले अमेरिकी जिल्ला अदालतका न्यायाधीश मार्टिनेज-ओल्गुइनसमक्ष एक आपतकालीन निवेदन दर्ता गराएका छन्। उनीहरूले राज्यका महान्यायाधिवक्ताहरू र प्यारामाउन्टबिच भएको फितलो तथा कार्यान्वयन गर्न नसकिने सहमति आदेशको औपचारिक विरोध गर्ने अवसर सरोकारवाला पक्षहरूलाई प्रदान गर्न अदालतसँग माग गरेका छन्।

डेभिडका पिता तथा ओराकलका संस्थापक एवं अर्बपति ल्यारी एलिसनले ब्रदर्शको अधिग्रहणका लागि ४६.७ अर्ब डलर बराबरको इक्विटी वित्तपोषणको व्यक्तिगत ग्यारेन्टी दिएका छन्।

यसबाहेक, प्यारामाउन्टले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सका ‘सभरेन वेल्थ फन्ड’ (सरकारी लगानी कोष) हरूबाट २४ अर्ब डलरको प्रतिबद्धता जुटाएको छ। प्यारामाउन्टका अनुसार मध्य पूर्वका ती तीन कोषहरूको संयुक्त ‘प्यारामाउन्ट-वार्नर ब्रदर्स’ मा ३८.५ प्रतिशत स्वामित्व रहनेछ।

images