
काठमाडौँ, ९ भदौ । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै मङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा रहेको छ। यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै रूपमा कायम रहँदै उत्तर-पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।


दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भाग, कर्णाली प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानका साथै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राति भने देशभर अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भाग र कर्णाली प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

सचेतनामूलक सूचना:
विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ। साथै, यसबाट दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार र राहत कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले आग्रह गरेको छ।





