रसुवा र म्याग्दीमा सडक अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार रसुवामा मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन् भने मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्ड पनि प्रभावित भएका छन् ।

रसुवामा भदौ १० को भोटेकोशी बाढीपछि मुख्य राजमार्गहरू अझै पूर्ण रूपमा अवरुद्ध छन् । अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाका मुख्य राजमार्ग पूर्ण रूपमा बन्द रहेको उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशको मनाङमा बाढीका कारण बेँसीसहर हुँदै खाङसारसम्म जाने सडक प्रभावित भएको छ । यो सडकमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, म्याग्दीमा पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो गएपछि असोज १७ गते बिहानदेखि सडक पूर्ण रूपमा बन्द रहेको छ ।

त्यसैगरी, नवलपरासी पूर्वमा पनि पहिरोका कारण कालिगण्डकी करिडोरका दुई स्थान प्रभावित भएका छन् । बुलिङटार गाउँपालिका–६ घुमाउरी घाटमा पहिरो गएपछि सडकमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ भने बौदीकाली गाउँपालिका–३ जन्ती पहिरो क्षेत्रमा पनि कालिगण्डकी करिडोर प्रभावित भएको छ। उक्त स्थानमा एकतर्फी सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन चल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।