
केशव पन्थी, अर्घाखाची डट्कम।
अर्घाखाँचीमा प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ताहरूका लागि सञ्चालन गरिएको तीन दिने विशेष ‘कस्टमाइज तालिम’ सम्पन्न भएको छ।
शिक्षा विकास तथा समन्वय इकाई, अर्घाखाँचीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाईको सभाहलमा सञ्चालन भएको तालिममा जिल्लाका सबै स्थानीय तहबाट ३० जना सहजकर्ताको सहभागिता रहेको थियो।

‘बालमैत्री सिकाइ, गुणस्तरीय प्रारम्भिक बाल विकास’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको तालिमको मुख्य उद्देश्य बाल विकास केन्द्रका सहजकर्ताहरूको क्षमता अभिवृद्धि गरी बालबालिकाको प्रारम्भिक सिकाइलाई थप प्रभावकारी र गुणस्तरीय बनाउनु रहेको शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद बेल्वासेले बताउनुभयो।


तालिममा बाल विकास तथा मनोविज्ञान, खेलमा आधारित सिकाइ, बालमैत्री शिक्षण विधि, सिकाइ सामग्री निर्माण तथा प्रयोग, कक्षा व्यवस्थापन, समावेशी तथा बालमैत्री वातावरण, बाल संरक्षण र सुरक्षालगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक सहजीकरण गरिएको थियो।


समापन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद बेल्वासे, सन्धिखर्क नगरपालिका शिक्षा शाखाका निर्देशक डिलाराम खनाल तथा सहजकर्ता शर्मिला भुसालले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।


‘हरेक बालबालिकाको उज्ज्वल भविष्यका लागि सक्षम सहजकर्ता’ भन्ने मूल भावका साथ सम्पन्न तालिमले प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ताहरूलाई थप दक्ष र सक्षम बनाउँदै बालबालिकाको सिकाइको जग बलियो बनाउन सहयोग पुग्नेछ।








