सुपादेउराली मन्दिर परिसरमा नियमित सरसफाइ अभियान, महिनैपिच्छे एकादशीमा सफाइ गर्ने प्रतिबद्धता

-अनिल नेपाली ,अर्घाखाची डटकम

अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिर परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। सुपादेउराली बजार व्यवस्थापन समितिको आयोजनामा मन्दिर परिसर तथा आसपासको क्षेत्रमा सरसफाइ गरिएको हो।

बजार व्यवस्थापन समितिका अध्यक्ष सरोज केसीका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्रलाई स्वच्छ, सफा र आकर्षक बनाउने उद्देश्यले प्रत्येक महिनाको एकादशीका दिन नियमित रूपमा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने गरिएको छ।

केसीले सुपादेउराली क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उचाइमा पुर्‍याउन स्वच्छ वातावरण र व्यवस्थित क्षेत्र निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए। सबैको सहयोग र सद्भावका कारण सुपादेउराली क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप विकसित हुँदै गएको उनको भनाइ छ।

समितिका सचिव बाबुराम थापाले धार्मिक तथा पर्यटकीय क्षेत्रको सौन्दर्य कायम राख्न सरसफाइ महत्वपूर्ण पक्ष भएको बताए। सरसफाइ अभियानलाई प्रभावकारी बनाउन बजार व्यवस्थापन समिति, मन्दिर व्यवस्थापन समिति तथा स्थानीय बासिन्दासहित सबैको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

सरसफाइ अभियानलाई निरन्तरता दिँदै स्वच्छता र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्न जागरण अभियानसमेत सञ्चालन गर्नुपर्ने अध्यक्ष केसीले बताए।

हालै सम्पन्न अधिवेशनबाट सरोज केसी अध्यक्ष र बाबुराम थापा सचिवमा निर्वाचित भएपछि सुपादेउराली क्षेत्रको व्यवस्थापन, सरसफाइ तथा जनमुखी सुधारका लागि विभिन्न संघसंस्थासँग सहकार्य गर्दै रचनात्मक तथा सकारात्मक गतिविधिलाई प्राथमिकता दिइएको स्थानीयवासीले बताएका छन्।

धार्मिक आस्था र पर्यटकीय आकर्षण बोकेको सुपादेउराली क्षेत्रमा नियमित सरसफाइ अभियानले क्षेत्रको स्वच्छता, सौन्दर्य र पर्यटकीय वातावरण थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

images

अर्घाखाँची डटकम | Arghakhanchi.com HD