काठमाडौं, ४ असार पूर्वलडाकु र वाईसीएलका माग सम्बोधन गर्न बिहीबार विहान एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक शुरु भएको छ ।
प्रचण्ड निवास लाजिम्पाटमा शुरु बैठकमा शिविरमा भएको भनिएको आर्थिक अनियमितताका विषयमा छलफल हुने प्रवक्ता दीनानाथ शर्माले बताए । विस्तारित बैठकको माइक समेत कब्जा गरेर पूर्वलडाकू र वाईसिएलले नारावाजी गरेपछि बुधवार माओवादी अध्यक्ष प्रचण्डले बिहीबार बिहान ११ बजेसम्म मागहरु सम्बोधन गर्न आश्वासन दिएका थिए ।
वाइसिएल र पूर्वलडाकुले लेवी उठाएको, सरकारले शिविरमा पठाएको तथा चन्दा लगायतका सबै रकम पारदर्शी हुनुपर्न, हिसाब स्पष्ट पार्न नसक्ने कमाण्डरलाई छानवीन गरी कारबाही गर्नुपर्ने लगायतका माग राखी पूर्वलडाकूले ११ र वाइसिएलले ५ बुदे माग अध्यक्ष प्रचण्डलाई वुझाएका थिए ।



