काठमाडौं, १९ साउन । कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाएर संसदीय चुनावमा जानुपर्ने निस्कर्ष निकालेका काङ्ग्रेसका जिल्ला सभापतिहरु त्यसै अनुसारको निकास लागि दौडधुपका लागेका छन् । समसायिक राजनीतिक अवस्थाको बारेमा राष्ट्रपति छलफल गर्न उनीहरु राष्ट्रपति कार्यालय सितल निवास पुगेका छन् ।
अहिले बिहान राष्ट्रपति डा रामबरण यादवसँग सामूहिक रुपमा छलफल गर्न उनीहरु सितल निवास पुगेका हुन । छलफलमा काङ्ग्रेसका जिल्ला सभापतिहरुले देशमा उत्पन्न राजनीतिक तथा संवैधानिक सङ्कट निवारणको लागि आफूहरुको दोस्रो राष्ट्रिय भेलाले पारित गरेका प्रस्तावहरुको बारेमा जानकारी गराउने तयारी गरेका छन् ।
काङ्ग्रेसका जिल्ला सभापतिहरुको भेला यही साउन १५ र १६ गते सिन्धुपाल्चोकको बाह्रविसेमा सम्पन्न भएको थियो । राष्ट्रपतिसँगको भेटमा संविधानसभाको पुनस्थापनाभन्दा पनि संसदको निर्वाचन गनुपर्ने सुझावसहित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा धारणा आदानप्रदान गरिने नुवाकोट काङ्ग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए । राष्ट्रपतिसँगको भेटमा दोस्रो राष्ट्रिय भेलामा सहभागी भएर काठमाडौंमा रहेका जिल्ला सभापतिहरुको उपस्थिति रहनेछ ।



