काठमाडौं, २९ साउन अब बन्ने सरकारमा शेरबहादुर देउवाले प्रधानमन्त्री पाउने सम्भावना कम देखिएपछि कार्यविभाजनमा असन्तुष्ट देउवा पक्ष छुट्टै रणनीति बनाउने गृहकार्यमा लागेको छ । आज काठमाडौंमा उपलब्ध आफू पक्षधर केन्द्रीय सदस्य र नेताहरुको भेलाबाट सस्थापन पक्षसँगको सम्बन्ध पदीय वार्गेनिङका विषयमा धारणा बनाउनेछ ।
आफूहरुसँग कुनै छलफलनै नगरी सभापति सुशील कोइरालाले पार्टीको विभागहरु गठन गरेकोभन्दै असन्तुष्ट बनेको देउवा समूहले भावी योजना बनाउन लागको हो । दिउँसो २ बजेपछि देउवा निवास बूढानिलकण्ठमा सुरु हुने बैठकमा सभापति कोइरालाको कदम, आफ्नो समूहको धारणा बनाउने बारेमा छलफल हुने नेता पूर्णवहादुर खड्काले जानकारी दिए ।
सस्थापन पक्षले प्रधानमन्त्रीको उम्मेद्वार सके सम्म रामचन्द्र पौडेललाई बनाउने त्यो हुन नसके सभापति शुसील कोइराला नै प्रधानमन्त्री बन्ने रणनीति लिएको छ । देउवा पक्षभने यसअघिको सहमति अनुसार देउवा नै प्रधानमन्त्रीको उम्मेद्वार बन्नुपर्ने अडानमा छ । नेता खड्काका अनुसार आउँदो विहिवार बोलाइएको केन्द्रीय समितिको बैठकमा सहभागी हुने वा नहुने, भएमा कसरी प्रस्तुत हुने बारेमा पनि आजको बैठकमा कुराकानी हुनेछ ।
काङ्ग्रेस सभापति कोइरालाले पार्टीका विभागहरु गठनगर्दा आफूहरुसँग सल्लाह नगरेकोमा देउवा समूहले असन्तुष्टि जनाउँदै आएको छ । विभागगठन बारेको विवादका कारण करिब नौं महिनापछि भ्रातृ संस्था पुनर्गठन गरेर मिलेको काङ्ग्रेसको विवाद फेरि बल्झिएको छ । सभापति कोइरालाले गठन गरेको विभागको जिम्मेवारीबाट नेता पूर्णवहादुर खड्का सहित तीन जनाले राजिनामा दिइसकेका छन् ।



