३२ साउन, काठमाण्डौं । प्रधानमन्त्री डा।बाबुराम भट्टराई नौवटा मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री पनि हुन् । तर, आफूले सम्हालेका मन्त्रालयमा उनले एकचोटि पाइलासमेत टेकेका छैनन् । ती मन्त्रालयबाट आउने फाइलमा हस्ताक्षर धस्काउनमै सीमित छ उनको भूमिका ।
गत १४ जेठयता प्रधानमन्त्री कार्यालयसँगै ऊर्जा, कानुन, न्याय, संविधानसभा तथा संघीय मामिला, कृषि विकास, युवा तथा खेलकुद, रक्षा, वाणिज्य तथा आपूर्ति, सहरी विकास र सामान्य प्रशासन प्रधानमन्त्री डा। भट्टराईकै मातहत छन् । त्यसअघि ती मन्त्रालयमा एमाले, कांग्रेसका मन्त्री थिए । उनीहरूले नयाँ संविधानसभाको पुनस् निर्वाचन गर्ने सरकारको निर्णयप्रति असहमति जनाउँदै मन्त्रीपदबाट राजीनामा दिएपछि ती मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरिएको छैन । यति धेरै मन्त्रालयको बोझ बोकेका प्रधानमन्त्रीले मातहतका मन्त्रालयबाट आएका महत्त्वपूर्ण फाइल पढ्न भ्याउँदैनन् । अरूलाई हेर्न दिएर उनले हस्ताक्षर मात्रै ठोक्ने गरेको स्रोतले बतायो । स्रोतका अनुसार फाइल हेर्नमा सबैभन्दा क्रियाशील रहन्छिन् प्रधानमन्त्रीपत्नी हिसिला यमी । यसैगरी, प्रधानमन्त्री सचिवालयका कर्मचारी पनि उनलाई फाइल हेर्न सघाउँछन् ।



