काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा (माओवादी) नेतृत्वमा निर्माण भएको गठबन्धन जातिवादी र विखण्डनकारीहरुको गठबन्धन भएको आरोप लगाएका छन् ।
नेकपा (एमाले) सिन्धुपाल्चोक-काठमाडौँ सम्पर्क मञ्चको भेलालाई आज सम्बोधन गर्दै उनले संविधानसभा विघटन गराउने एमाओवादी-मधेसी मोर्चाको गठबन्धन मुलुकलाई गतिहीन बनाउँदै आफ्नो सत्ता स्वार्थ पूरा गर्न लागिपरेको बताए ।
‘आफैँले घोषणा गरेको चुनाव गराउन असफल वर्तमान सरकार मुलुकका लागि सबैभन्दा ठूलो बोझ भएको छ,’ अध्यक्ष खनालले भने, ‘मुलुकलाई सहमतिको दिशामा हिँडाउन वर्तमान सरकारले राजीनामा दिएर सङ्कट समाधानको दिशामा अग्रसर हुनुपर्छ।’
वर्तमान सङ्कटपूर्ण घडीबाट मुलुकलाई निकास दिन सहमतिको विकल्प नभए पनि एमाओवादी र मधेसी मोर्चाको सत्तालिप्साका कारण सहमति हुन नसकिरहेको उनले जिकिर गर्नुभयो।
नेकपा (एमाले)का वैकल्पिक पोलिटब्युरो सदस्य अरुण नेपालले राजनीतिक सङ्क्रमणलाई लम्ब्याएर वर्तमान सरकार सत्तामा टिकिरहने दाउमा रहेकाले तत्काल दलहरुले त्यस्तो प्रवृत्तिको सशक्त विरोध गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य डम्बर अर्याल, एमालेका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष हस्त पण्डित, सम्पर्क मञ्चका अध्यक्ष शम्शेर शाक्यलगायतले मुलुकमा विद्यमान राजनीतिक र संवैधानिक सङ्कटको अन्त्य गरी चाँडोभन्दा चाँडो निकास खोज्नुपर्नेमा जोड दिएका थिए । रासस



