
सूर्य गोलो हुन्छ भन्ने त सबैलाई थाहा छ । तर कतिसम्म गोलो होला ? भन्ने प्रश्न सबैको हुनसक्छ । तर वैज्ञानिकहरुले यो प्रश्नको जवाफ भेट्टाइदिएका छन् । पछिल्लो अनुसन्धानले सूर्य पूर्णरुपमा गोलाकार रहेको र ब्रम्हाण्डमा रहेका सम्पूर्ण वस्तुहरुमध्ये सूर्य नै सबैभन्दा गोलो वस्तु हुनसक्ने दाबी गरेका छन् ।
हालै गरिएको अनुसन्धानले सूर्य नै अहिलेसम्मकै सबैभन्दा गोलो वस्तु रहेको देखाएको छ । बिच बल जत्रै आकारमा ढालेर नाप्दाखेरी सूर्यको सबैभन्दा चौडा तथा साँघुरो व्यासबीचको अन्तर केवल एउटा रौँ जत्तिकै फरक छ । ठोस सतह नभएकाले सूर्यको तिब्रगतिको परिक्रमणले गर्दा मात्र व्यासमा यस्तो फरक आएको हुनसक्ने तर्क वैज्ञानिकहरुको छ । तर यसअघि अपेक्षा गरिएको भन्दा यस्तो फरक निकै कम पाइएको हो ।
सूर्यको गोलाइबारेको अध्ययन गर्ने क्रममा वैज्ञानिकहरुले सोलार डाइनामिक्स अब्जरभेटरी स्याटेलाइटबाट प्राप्त तथ्यांकहरुको विश्लेषण गरेका छन् । यसअघि सूर्यको गोलाइ आफ्नो अक्षमा घुम्ने क्रममा समय अनुसार फरक हुने बताइएको भएपनि पछिल्लो अध्ययनले सूर्यको गोलाई घुमाइ अनुसार खासै फरक नपर्ने र लगभग स्थिर हुने देखिएको छ ।
अमेरिकाको हवाइ विश्वविद्यालयका प्राध्यापक तथा पछिल्लो अनुसन्धानका प्रमुख डाक्टर जेफ कुहनका अनुसार आफ्नो ११ वर्षे सनस्पट चक्रमा सूर्यका हरेक अवस्थामा परिवर्तन आउने भएपनि यसको आकारप्रकारमा भने भिन्नता आउँदैन अर्थात् सधै पूर्ण गोलो रहन्छ ।
– Agencies