आईजीपी नियुक्ती विवाद मन्त्रिपरिषद्बबाट दलको बैठकमा

 काठमाडौं, २२ भदौ नयाँ प्रहरी महानिरिक्षकको बनाउने विषयमा मन्त्रिपरिषद्मा सहमति जुट्न नसकेपछि सत्तासाझेदार दलहरुको सयुक्त बैठकले टुङ्गो लगाउने भएको छ । आज अपरान्ह बस्ने एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाको सयुक्त बैठकमा आईजीपी नियुक्त पनि एउटा प्रमुख एजेण्डा बन्ने छ ।
 
दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र उप प्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले दावी गरेको दुईजनाको नाममा छलफल हुनेछ । तीन प्रतिस्पर्धीमध्ये माओवादीले कुवेर रानाको नाम अघि सारेको छ भने मोर्चा त्यसमा सहमत नहुँदा त्यसबारे निर्णय लिन बिहीबार अपराह्न चार बजे डाकिएको मन्त्रिपरिषद बैठक नै बस्न सकेन।

 
 
स्रोतका अनुसार प्रधानमन्त्री भट्टराई रानालाई आइजिपी बनाउन लागिपरेका छन्। उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार भने भिष्म प्रसाईंलाई आइजिपी बनाउनुपर्ने अडानमा छन्। दुवै आफ्ना अडानमा रहेपछि प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह अवकाशअगाडि बिदा बस्ने मन हुँदाहुँदै पनि कार्यालय गइरहेका छन्। उनले भदौ २९ मा अवकाश पाउँदैछन्। दुईजनालाई बाहिर राखेर तेस्रो व्याक्ति पनि हुन सक्ने स्रोतले बताएको छ ।
 
स्वास्थ्यमन्त्री राजेन्द्र महोताले आइजीपी नियुक्तको विवादमा आज सहमति खोज्ने र मिल्यो भने आजै मन्त्रिपरिषद् बैठक बसेर निर्णय गर्ने ओएनएसलाई जानकारी दिए ।
 
 
 सत्ता सञ्चालन पनि एजेण्डा
 
बैठक सत्ता सञ्चालनमा आएका कठिनाई र विपक्षी दलहरुसँग भइरहेको बर्ताका    विषयमा पनि छलफल हुनेछ । अहिले संविधानसभाका विवादित विषय र सरकार गठनका विषयमा तीनदलबीचमा भइरहेको छलफलका विषयमा मोर्चा र एमाओवादी बैठकले धारणा बनाउने सद्भावना अध्यक्ष तथा स्वास्थ्यमन्त्री महोतोले बताए । उनका अनुसार काङ्ग्रेस एमालेसँग गर्ने वार्तामा माओवादीले मोर्चाको समेत धारणा बोक्ने गरि छलफल हुनेछ ।