एमाले झलनाथ खनाल चारदिने भारत भ्रमणमा

काठमाडौ  – एमाले अध्यक्ष झलनाथ खनाल शनिबार  चारदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । प्रवासी नेपाली संघ, भारतको सातौँ सम्मेलनमा भाग लिन उनी त्यसतर्फ  लागेका हुन् । 


भारतको मध्यप्रदेशस्थित भोपालमा आयोजना हुने सो सम्मेलनको अध्यक्ष खनालले आयतबार उद्घाटन गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिए  ।


अध्यक्ष खनालसँग पोलिटब्युरो सदस्य प्रकाश ज्वाला, पूर्व केन्द्रीय सदस्य प्रमेश हमाल र स्वकीय सचिव अधिकारी पनि त्यसतर्फ प्रस्थान गरेका छन् । भारत प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष खनालले मुलुकको राजनीतिक र संवैधानिक सङ्कट अन्त्यका लागि दलहरुबीच सहमतिको विकल्प नभएको र त्यसका लागि वर्तमान सरकारले मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिए ।