बेलायत । बिश्वमा महामारीको रुपमा फैलिएको क्यान्सर रोगीको संख्या सन् २०३० सम्ममा कम हुने भएको छ । बेलायती क्यान्सर रिसर्च संस्थाले बिश्वमा सन् २०३० सम्ममा क्यान्सर रोगीमा १७ प्रतिशतले कमी आउने जनाएको छ । सो संस्थाका प्रोफेसर पीटर सासेनीले बिश्वमा ध्रम्रपान गर्नेको संख्या घटेको र समयमै उपचारका लागि सर्वसाधारण सजग बनेकाले क्यान्सर रोगीको संख्यामा कमी आउने बताउनुभयो ।
स्तन, पाठेघर र प्रोस्टेट क्यान्सरका बिरामीले पनि आफनो स्वास्थ्यप्रति सजग भई समयमै उपचार गराएका कारण क्यान्सर रोगीको संख्यामा कमी आउने उक्त संस्थाको निष्कर्ष छ ।
सन् २०१० मा हरेक एक लाख मानिसमा १ सय ७० जनाको क्यान्सरका कारण मृत्यु हुने गरेकोमा सन् २०३० सम्ममा यो संख्या घटेर प्रत्येक एक लाख ब्यक्तिमा १ सय ४२ जनाको मात्रै मृत्यु हुने अनुमान प्राफेसर पीटर सासेनीको छ । सो संस्थाले मुखको क्यान्सरका बिरामी भने बढ्ने अनुमान गरेको छ । धुम्रपान गरेका कारण हुने क्यान्सरका बिरामीले समयमै उपचार नगराउने गरेको सो संस्थाको भनाई छ ।
– Agencies