‘आजदेखि एमालेमा रहिएन कमरेडहरु भन्दै गए

‘एमाले परित्याग कार्यक्रम’को तुलमुन्तिर अधवैंशे नेताको बीचमा थिए, वीरबहादुर लामा ।

सभागृहको हल भर्ने नेता कार्यकर्ताको समूहमा नख्खु जेलको घेरा तोड्ने यी ‘बहादुर कमरेड’ले पनि एमालेबाट बसाईं सरे । तत्कालिन कोअर्डिनेशन केन्द्रमा संगठित हुँदै ४१ वर्ष एमालेमा विताएका लामाले मुठ्ठी उठाउँदै सम्बोधन बिट मारे, ‘आजदेखि एमालेमा रहिएन कमरेडहरु π लालसलाम ।’

संविधानसभा भंगको दोष आफ्नै पार्टी एमालेलाई लगाउँदै उपाध्यक्ष अशोककुमार राईसहित आधा दर्जन केन्द्रीय नेता, जिल्ला, इलाका, गाउँ र सम्पर्क समितिका गरी ६१ जिल्लाका ५ सय १७ जनाले बिहीबार एमाले परित्याग गरे । परित्याग गर्ने धेरै जीवन र जवानी एमालेकै लागि बिताएका पनि थिए ।

कार्यक्रमस्थल भरिभराउ थियो, हल बाहिर पार्टी त्याग्ने नेताहरुको आक्रोस र रणनीति सुन्ने पनि बाक्लै थिए । पार्टी छाड्दा केही केन्द्रीय नेतामा उत्साह देखिए पनि स्वयं नेतृत्वकर्ता राईसहितका नेताहरुको मुख अँध्यारै देखियो ।

मञ्चमा कम्युनिष्ट सिद्धान्त मन नपराउने आदिवासी जनजाति नेताहरु -जो अब बन्ने नयाँ शक्तिमा सँगै रहने बताउँदै आएका छन्) थिए । नयाँ पार्टीले मार्क्सवादी सिद्धान्त समाउने नै हो या छाड्ने हो टुंगो छैन । केन्द्रीय वक्ताहरुले कम्युनिष्टको पेवा नै जस्तो भएको कमरेड र लालसलाम शब्द दोहोर्‍याइरहे ।

‘एमालेबाट मार्क्सवादको आत्मा निस्केको छ,’ मार्क्सवाद आफूले समाइरहने संकेत गर्दै नेता रिजवान अन्सारीले भने, ‘मरेको एमाले हामीले छाड्यौं, जलाउने जिम्मा जनतालाई ।’ सवैभन्दा चर्को सम्बोधन गरेका युवा नेता अन्सारीले पार्टी छाड्दा पीडा भएको खुलाए । ‘तर मरेको सिनो बोकेर हिंड्न नसकिने रहेछ,’ उनको आक्रोस थियो, ‘सुधार्न नसकेपछि छाड्यौं ।’

पार्टी छाड्नेमा लामो समय संघर्ष गरेकादेखि एमालेबाट पटक पटक लाभको पद धारण गर्नेहरु पनि उत्तिकै छन् । लामो समय पार्टीका लागि संघर्ष गरेका वीरबहादुर लामा, डीबी नेपाली, मिना गुरुङ, मझिलाल थारु थनेत, रामसिंह यादवदेखि राष्ट्रिय योजना आयोग, मन्त्री, सांसद् भ्याएका मंगलसिद्धि मानन्धर, एमाले कोटामा जापानका लागि राजदूतको कार्यकाल सकेर १० महिनाअघि फर्केका गणेश योञ्जनसम्म थिए ।

अधिकांश वक्ताले सम्बोधनभर एमालेलाई शब्द रहेसम्म गाली गरे भने चार महिनासम्म अन्तर्संघर्ष गरेर पुनः फर्किएका पोलिट्ब्युरो सदस्य पृथ्बिसुब्बा गुरुङलगायतलाई छेउमै पुग्नेगरी भने । ‘एउटा गुरुङ फेरि झलनाथ, माधव र केपीको पछुवा भएर जाओस्,’ पृथ्बिसुब्बालक्षित गर्दै पोलिट्ब्युरो सदस्य विजय सुब्बाले भने, ‘तर उसले आफ्नो छोराका लागि अन्तर्घात गरेको छ ।’

उपाध्यक्ष राई, नेताहरु राजेन्द्र श्रेष्ठ, अन्सारी, सुब्बाले अब बन्ने राजनीतिक शक्ति जातजातिकोमात्र नहुने दाबी गरे । ‘हामी पार्टी छाड्नमात्र आएका हैनौं,’ राईले भने, ‘नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको घोषणा गर्न चाहन्छौं ।’

नेताहरुले सवै जातजाति, क्षेत्र, सम्प्रदायलाई समेट्ने उदघोष गरे पनि अधिकांश पूर्वी क्षेत्रका राई, लिम्बू, नेवार र केही मधेसी समुदायमात्र मञ्चमा देखिए । पार्टी परित्याग गर्ने सूचिमा ब्राम्हण क्षेत्री समूदायबाट नगण्य छन् ।




 Source:Ekantipur