सहमतिको सरकार बनाउन एमाओवादी इमान्दार नभएको ठहर-नेपाली काँग्रेस

नेपाली काँग्रेसले असोज महिनाभित्रै राष्ट्रिय सहमतिको सरकार बनाउन एकीकृत नेकपा (माओवादी) इमान्दार नदेखिएको ठहर गरेको छ ।

    महाराजगञ्जस्थित सभापति सुशील कोइरालाको निवासमा आज बसेको पदाधिकारी र प्रभावशाली नेताहरुको बैठकले एकपछि अर्को छलकपट गर्दै विगतका सहमति कार्यान्वयन गर्न आनाकानी गर्ने एनेकपा (माओवादी)लाई तत्काल विश्वास गर्न नसकिने निष्र्कषसमेत निकालेको छ ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बैठकमा मुलुकलाई निकास दिने विषयमासमेत गम्भीर छलफल भएको र मुलुकलाई राजनीतिक र संवैधानिक निकास दिन दलहरुबीच पछिल्लोपटक भएका सहमति कार्यान्वयन गर्न पहल गर्नुपर्ने निष्कर्ष निकालिएको बताउनुभयो ।

    राष्ट्रिय सरकार बनाउने विषयमा पूर्व सहमतिको कार्यान्वयनलाई लिएर एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गर्ने निर्णय पनि बैठकले गरेको उपसभापति पौडेलले जानकारी दिनुभयो ।

    बैठकले एमाओवादीले सत्ता लम्ब्याउने खेल गरेको आशङ्का गर्दै सहमतिको सरकार बनाउन एमाओवादी तयार नभए कात्तिक महिनाबाट सशक्त आन्दोलन अघि बढाउने निर्णयसमेत गरेको छ ।

    मुलुकको समस्यालाई थाँती राखेर एनेकपा (माओवादी)का अध्यक्ष दाहाल यही असोज २५ गते बेल्जियम जान लागेकामा बैठकले आपत्ति जनाउँदै सहमति गरेर मुलुकलाई राजनीतिक निकास दिनुपर्ने मागसमेत गरेको छ ।

    यसअघि असोज मसान्तभित्रै संविधानका विवादित विषयमा सहमति जुटाएर राष्ट्रिय सरकार बनाउन काँग्रेस र एमाओवादीसहितका दलले सहमति गरेका थिए ।

    विपक्षी दल काँग्रेस र एमालेले प्रधानमन्त्री डा बाबुराम भट्टराईको सहज बहिर्गमनको माग गर्दै आएका छन् भने एमाओवादी र संयुक्त मधेसी मोर्चाले विपक्षी दलहरुको सो मागलाई वेवास्ता गर्दै आइरहेको छ ।


Source:Rss