एकीकृत नेकपा माआवोदीका नेता कृष्णबहादुर महराले नेकपा-माओवादी (वैद्य समूह) फेरि आफ्नै पार्टीमा फर्कने दाबी गरेका छन्। उनले वैद्य समूह पुरानै पार्टीमा बाध्य भएर फर्कने जिकिर गरे।
‘कि त उनीहरु विसर्जन भएर जानेछन्। होइन भनेत पुरानै पार्टीमा फर्कनेछन,’ नेकपा माओवादी इटहरी नगर समितिको प्रथम नगर सम्मेलनको शनिबार इटहरीमा उद्घाटन गर्दै नेता महराले भने, ‘मुलुकमा रहेको वर्ग सङ्घर्षको चूरो कुरो पत्ता लगाउन नसक्दा पार्टीका केही नेताले पार्टी फुटाएका हुन्।’ उनले पहिचान सहितको संघीयता र संघीतया सहितको संविधान लेख्ने कुरामा आफ्नो पार्टी अडिग रहेकै कारण प्रतिगमनकारीले चलखेल गरेकाले समस्या निम्तिएको बताए।
‘राष्ट्रिय सहमति नहुनुमा काङ्ग्रेस र एमाले मुख्य बाधक हुन,’ महराले भने, ‘काँग्रेस-एमाले पुरानै मुलधारमा मुलुकलाई अगाडि बढाउन चाहन्छन्। हामी भने नयाँ धार कुनै हालतमा छाडदिनम।’ उनले दलहरुबीच सहमति भएमा हप्ता/दस दिनभित्र मुलुकले निकास पाउने सम्भावना रहेको बताए। ‘प्रतिपक्षी दलहरुसँग कुराकानी भइरहेको छ। सहमति हुने टुङ्गो भने लागिसकेको छैन,’ उनले भने।
प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीको राजीनामालाई सहमतिको मुख्य सर्त राखेपनि महराले राजीनामा मात्रै राजनीतिक निकासको बाधक नरहेको जिकिर गरे। सो क्रममा कोचिला राज्य समिति संयोजक गोपाल किरातीले जातीय आधारमा सवैलाई अधिकार दिने सवालमा अन्य दलहरु सहमत नहुदाँ मूलुकमा अहिलेको समस्या निम्तिएको बताए।
Source:Nagarik