प्रधानमन्त्री बाबुराम भट्टराई द्वारा मंसिर दोस्रो चुनावको मिति घोषणा हुने दाबी

प्रधानमन्त्री बाबुराम भट्टराईले मंसिर दोस्रो चुनावको मिति घोषणा हुने दाबी गरेका छन् ।’मंसिर पहिलो साताभित्र सहमतिमा पुग्छौं,’ दिदी थिरकुमारी भट्टराई र बहिनी पार्वती शर्माको हातबाट टिका लगाएपछि प्रधानमन्त्रीले सञ्चारकर्मीसँग भने, ‘सम्भवतः मंसिर दोस्रो साता निर्वाचनको मिति घोषणा हुन सक्छ ।’
निर्वाचन आयोगले तयारीका लागि ४-५ महिना समय माग गरेकाले बैशाखमा चुनाव गर्न मंसिर दोस्रो साता चुनाव मिति घोषणा गर्नैपर्ने दबाब रहेको उनले बताए ।
प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिने तयारी भइरहेको बताए । तत्कालिन व्यवस्थापिका संसदबाट निर्वाचित सरकार भएको र नयाँ सरकार बनाउने वैकल्पिक बाटो नभएकाले तत्काल नयाँ सरकार बन्ने सम्भावना नरहेको उनले बताए ।
प्रधानमन्त्री भट्टराईले बिहान ११ बजेर ३३ मिनेटको शुभसाइतमा दिदी थिरकुमारी पराजुली र बहिनी पार्वती शर्माको हातबाट टीका लगाए । प्रधानमन्त्री भट्टराई टीकाका लागि आफ्ना भाइ शिव भट्टराईको घर कोटेश्वर पुगेका थिए ।