एमाले गुल्मीका अध्यक्ष पाण्डेको निधन

राम खड्का
जेष्ठ ९ गुल्मी – नेकपा एमाले गुल्मीका अध्यक्ष टोमलाल पाण्डेको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको छ ।ब्रेन ट्यूमरबाट पीडित पाण्डेको दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
६० वर्षिय पाण्डे एक वर्ष अघि मात्रै पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०२६ सालदेखि कम्यूनिष्ट आन्दोलनमा लागेका पाण्डे तत्कालीन माक्र्सवादी विद्यार्थी संगठनको सदस्य, युवा संघको केन्द्रीय सचिव, पार्टीको अञ्चल सदस्य पार्टी एकतापछि एमालेको जिल्ला सदस्य हुदै पार्टी अध्यक्ष बन्नुभएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि गत चैत ७ गते काठमाडौं लगिएकोमा उपचार सम्भव नभएपछि दुई हप्ता अघि थप उपचारका लागि भारतको दिल्ली लगिएको थियो ।
पाण्डेको अन्तिम दाहंसस्कारका लागि नेकपा एमाले पोलिटब्युरो सदस्य पुर्व मन्त्री प्रदीप कुमार ज्ञवाली ,केन्द्रिय सदस्य तथा पुर्व मन्त्री गोकण्ँराज बिष्ट, नेकपा एमाले लुम्बिनी अञ्चल सदस्यहरु, नेकपा एमाले गुल्मीबाट सबिधान सभाका सदस्यहरु लगायतका केन्द्रिय नेताहरु गुल्मी आउने बताइएको छ । पाण्डेको शवलाई दिल्लीबाट ल्याएर एक दिन पाटी कार्यलय गुल्मीमा राखेर श्रद्धाञ्जली दिई नेपालको चार धाम मध्येको एक धामका रुपमा प्रचलित रिडीको कालीगण्डकी नदीमा अन्तिम दाहंसस्कार गरिने नेकपा एमाले गुल्मीले जनाएको छ । पाण्डेका तीन छोरा र श्रीमती रहनु भएको छ।