काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूक्ष्म जीव वैज्ञानिकहरको खोज, अनुसन्धान र विचार आदानप्रदान गर्ने उद्देश्यसहित दुईदिने राष्ट्रिय सम्मेलन

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूक्ष्म जीव वैज्ञानिकहरको खोज, अनुसन्धान र विचार आदानप्रदान गर्ने उद्देश्यसहित उपत्यकामा आयोजित दुईदिने राष्ट्रिय सम्मेलन आइतबार सकिएको छ। सूक्ष्म जीव वैज्ञानिकहरुको छाता समाज नेपाल इकोबायोलोजी सोसाइटीले आयोजना गरेको पाँचौं सूक्ष्म जीव विज्ञान राष्ट्रिय सम्मेलनमा राष्ट्रिय विकासका लागि सूक्ष्म जीवविज्ञहरुको भूमिका र सूक्ष्म जीवविज्ञानमा सम्भावित सहयोग र लगानीमा जोड दिएको थियो। 
अर्थमन्त्री रामशरण महतले कार्यक्रममा राष्ट्र निर्माणमा सूक्ष्म जीव वैज्ञानिकलाई उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न आगामी दिनमा राज्यले विशेष पहल गर्ने प्रतिबद्धता जनाउँदै नीतिनिर्माणमा सम्बद्ध पक्षबाट अगाडि बढ्न आग्रह गरे।
 विश्वविद्यालयहरुबाट प्रदान गरिएका सूक्ष्म जीवविज्ञान विषयका खासगरी स्नातक र स्नातकोत्तर उपाधिलाई उचित र उपयुक्त मान्यता दिलाउन सकिएको छैन। 
त्यस्ता उपाधि हासिल गर्ने युवा वैज्ञानिकका लागि रोजगारका अवसर सुलभ गराउन सकिएको छैन, उपलब्ध सीमित अवसरका लागि प्रतिस्पर्धा गर्न पनि नीतिगत अवरोध सिर्जना गरिएका छन्। यसले गर्दा उनीहरुको ऊर्जा, सिर्जनात्मकता र राज्यको लगानी त्यतिकै खेर गइरहेको सहभागीको भनाइ थियो। 
सम्मेलनमा सहभागी हुन अमेरिका, पाकिस्तान, भारत, थाइल्यान्ड, मकाउलगायत अमेरिकन सोसाइटी फर माइक्रो बायोलोजी, विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, गैरसरकारी संस्था र देशभरका २२ वटा शैक्षिक संस्थाको प्रतिनिधित्व गर्दै ५ सय ७० जना आएका थिए। 
सम्मेलनमा देशविदेशमा गरिएका अनुसन्धानका निष्कर्ष र सुझावलाई ७१ वटा मौखिक कार्यपत्र, ४८ वटा पोस्टर प्रस्तुति एवं २४ वटा विशेष कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको थियो।
NAGARIKNEWS