सन् २०१५ जुन ३० अर्थात आजको दिन हाम्रो समय एक सेकेन्ड रोकिँदै
आषाढ़ १५ गते, २०७२ मा प्रकाशित
सन् २०१५ जुन ३० अर्थात आज मंगलबारको दिन हाम्रो समय एक सेकेन्ड रोकिँदैछ। आम रुपमा ६० सेकेन्डको एक मिनेट हुनेगर्छ। जुन ३० को दिन अन्तिम मिनेट ६१ सेकेन्डको हुनेछ। अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले यो कुराको पुष्टि गरेको हो। समग्रमा एक दिनमा ८६ हजार ४०० सेकेन्ड हुनेगर्छ तर जुन ३० अर्थात् आजको दिन भने ८६ हजार ४०१ सेकेन्डको हुनेछ।
नासाका अनुसार पृथ्वीको परिक्रमा ढिलो हुँदा यो ‘लिप सेकेन्ड’ थपिन पुगेको हो। पृथ्वी, चन्द्रमा तथा सूर्यबीच गुरुत्वकार्षण बलका कारण पृथ्वीको घुमाइ ढिलो हुन पुगेको हो।
कसरी जोडिन्छ थप एक सेकेन्ड
एटोमिक तथा सोलर समयमा संयोजन मिलाउन १ जनवरी १९६० लाई युटिसीको व्यवस्था ल्याइयो। १९७२ देखि नै आवश्यक परेको बेला युटिसीमा परिवर्तन गरी लिप सेकेन्ड जोड्न थालिएको हो। यसका लागि जुन वा डिसेम्बरमा अन्तिम मिनेटमा एक अतिरिक्त सेकेन्ड जोड्ने गरिन्छ। यसरी अतिरिक्त सेकेन्ड जोड्ने काम इन्टरनेशनल अर्थ रोटेसन एन्ड रेफरेन्स सिस्टम सर्भिसले गर्ने गर्छ। यी दुवै माप मूल्यांकनका लागि ३० जुनको अन्तिम मिनेटमा समय एक सकेन्डका लागि रोकिने गर्छ। यस्तो हुँदा अन्तिम मिनेट ६१ सेकेन्डको हुन पुग्छ।
लिप वर्षको नियमअनुसार प्रत्येक चार वर्षमा एक अतिरिक्त दिन जोडिइन्छ। यसो किन गरिन्छ भने पृथ्वीले सूर्यलाई परिक्रमा गर्न ५ घन्टा, ४८ मिनेट ४६ सेकेन्ड अतिरिक्त समय लाग्ने गर्छ। यसको ठिक विपरित लिप सेकेन्डको अवधिलाई निश्चित अवधिमा जोडेर गणना गर्न सकिँदैन। यो पृथ्वीको केन्द्रको गतिशीलता, वातावरण, महासागर, बरफको भण्डारण जस्ता धेरै कुराहरुमा निर्भर भइरहेको हुन्छ।
समयमा गरिएको यो फेरबदलले इन्टरनेट प्रणालीहरूले अाफ्नो घडीमा एक सेकेन्ड थप्नु पर्ने हो वा अटोमा परिवर्तित समय लिन्छन् भन्ने अन्याैल छ। एजेन्सी ( नागरिकन्युज)