मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र परी थापा नेतृत्वको नेकपा एकीकृतबीच एकीकरण भएको छ। दुई पार्टीले आइतबार ललितपुरमा संयुक्त अधिवेशन गरी पार्टी एकीकरण गरेका हुन्। नेकपा माओवादी र नेकपा एकीकृतले पार्टी एकीकरणका लागि एक वर्षभन्दा अगाडिदेखि पहल गरेका थिए। संयुक्त अधिवेशनमा दुई पार्टीले एउटै राजनीतिक दस्तावेज पेश गरेका छन्।
नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले सबै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एक ढिक्का बनाउने लक्ष्य अनुसार नेकपा एकीकृतसँग पार्टी एकीकरण गरेको बताए।
उनले मुलुकको राष्ट्रिय एकता, स्वाधीनता र अखण्डता धरापमा परेको भन्दै एकीकृत पार्टी अब संघर्षमा जाने बताए।
माओवादी अध्यक्ष वैद्यले संघर्षका कार्यक्रम छिट्टै सार्वजनिक गर्ने बताए। उनले एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरणका बारेमा भने केही उल्लेख गरेनन्। सेतोपाटीमा समाचार छ ।