आज पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शवयात्रा सहित आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्तिम संस्कार गरिदै

world news

कोइरालाको पार्थिक शरीरलाई आज बुधबार दिउँसो २ बजेबाट अन्त्येष्टिका लागि रंगशालाबाट शवयात्रा आरम्भ गरिने छ । शवयात्रा मार्ग त्रिपुरेश्वर- पुतलीसडक-कमलपोखरी-मैतीदेवी-गौशाला-पशुपति आर्यघाटमा पुर्‍याइने कार्यक्रम छ । माघ २७ साँझ आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्तिम संस्कार गरिने छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि बुधबार राजकीय सम्मानकासाथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै हुने भएको छ ।
कांग्रेस केन्द्रीय समितिको निर्णयबमोजिम कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मंगलबार पार्टी कार्यालय हुँदै मध्याह्न १२ बजेदेखि दशरथ रंगशालामा राखिएको छ ।
 
बुधबार अपराह्न २ बजेपछि रंगशालाबाट शवयात्रा गरी आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी कार्यालयले जनाएको छ ।
स्व. कोइरालाको दाहसंस्कार पार्टीले हालै आर्यघाटमा सन्चालनमा आएको विद्युत् शवदाहगृहमा गरिने जनाएपनि परिवारजनको इच्छाअनुसार हिन्दू परम्पराअनुसार नै दाहसंस्कार गरिने स्व. कोइरालाका भाइ अशोक कोइरालाले जानकारी दिए ।
स्व. कोइरालालाई उनका भतिजा अतुल कोइरालाले दागबत्ती दिने परिवारजनले बताएको छ ।
मंगलबार रातभर रंगशालामा रहने स्व. कोइरालाको पार्थिव शरीरलाई कांग्रेसले नेपाल सरकारको जिम्मा दिएको पार्टी कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिए ।
कोइरालाको अन्त्येष्टि राजकीय सम्मानकासाथ गर्ने निर्णय गर्दै सरकारले मंगलबार त्यसका लागि गृहमन्त्री शक्ति बस्नेतलाई जिम्मेवारी तोकेको छ ।
अन्तिम श्रद्धाञ्जलि दिन मुलुकका उच्च तहदेखि विभिन्न क्षेत्रका व्यक्तित्वहरू
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिन मुलुकका उच्च तहदेखि विभिन्न क्षेत्रका व्यक्तित्वहरू मंगलबार दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आइपुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वराष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्ती, मन्त्रीगण, विभिन्न पार्टीका नेताहरू, सुरक्षा निकायका प्रमुखहरू, कांग्रेसका नेता तथा कार्यकर्ता, कलाकार, सर्वसाधारणले कोइरालालाई श्रद्धाञ्जलि दिए । श्रद्धाञ्जलि दिन देशका विभिन्न कुनादेखि विदेशीसमेत आइपुगेका थिए ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता माधव नेपाल, एमाओवादीका अग्नि सापकोटा, राप्रपा नेपालका कमल थापालगायत नेताहरूले कोइरालाको पार्थिव शरीरमा फूल चढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
कोइरालाको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका निम्ति ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा राखिएको थियो । पार्टी कार्यालयबाट पार्थिक शरीरलाई दिउँसो २ बजे दशरथ रगशालामा अन्तिम श्रद्धाञ्जलिका निम्ति ल्याइयो । पार्टी कार्यालयबाट रंगशालामा आइचर गाडीमा पार्थिक शरीर ल्याउँदा घरका अन्य सदस्यसहित शेखर, शशांक र मृदुला कोइरालादेखि पार्टी उपसभापति रामचन्द्र पौडेल र कृष्ण सिटौला पनि थिए ।  
कांग्रेस नेता गोपालमान श्रेष्ठ, उपप्रधानमन्त्रीद्वय भीम रावल र चित्रबहादुर केसी, नेताहरू शंकर पोखरेल, ईश्वर पोखरेल, महेन्द्र पाण्डे, जनार्दन शर्मा लगायतले कोइरालाले नेपाली राजनीतिमा खेलेको भूमिकालाई लिएर प्रशंसा गरे । नेताहरूले कोइरालाले पार्टी, प्रजातन्त्र र लोकतन्त्रका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए । पूर्वअर्थमन्त्री महतले भने, ‘पार्टी, प्रजातन्त्र र लोकतन्त्रका लागि आफ्नो जिन्दगी दिए, त्यसैले विवाहसमेत गरेनन् ।’
 रासस