नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान

नेपाली कांग्रेसको सभापति चयनका लागि  दोस्रो चरणको मतदान  भएको छ । 
आइतबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका कुनैपनि उम्मेदवारले आवश्यक ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सोमबार दोस्रो चरणको निर्वाचन गरिएको हो ।
काठमाडौंको राष्ट्रिय सभागृहमा भइरहेको निर्वाचनका लागि अधिकांश महाधिवेशन प्रतिनिधिहरु पुगिसकेका छन् ।
पहिलो चरणको आइतबार भएको निर्वाचनमा सभापतिका प्रत्यासी वरिष्ठ नेता शेरबहादुर देउवालाई ११ मत नपुग्दा विजयी हुन सकेका थिएनन् ।
पहिलो चरणमा देउवाले १ हजार ५ सय ६४ मत पाए ।
अर्का प्रत्यासी कार्यबाहक सभापति रामचन्द्र पौडेलले भने १ हजार १ सय ६० तथा महामन्त्री कृष्ण सिटौलाले ३ सय २४ मत पाएका थिए । खसेको मतमध्ये १ सय १ मत बदर भएको थियो ।
पहिलो चरणबाटै सभापति चयन हुन नसकेको नेपाली कांग्रेसकै इतिहासमा यो पहिलोपटक हो ।
दोस्रो चरणको निर्वाचन सोमबार साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमै हुनेछ ।
दोस्रो चरणको चुनावमा देउवा र उनका निकटतम् प्रतिस्पर्धी रामचन्द्र पौडेलबीचमात्र निर्वाचन हुनेछ । तेस्रो भएका सिटौला भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । -इमेजखबरमा समाचार छ ।