दोस्रो चरणमा सोमबार भएको मतदानमा देउवाले १८२२मत प्राप्त गरे। पौडेलले १२९६ मत प्राप्त गरेका छन्। कुल खसेको ३१२० मतमध्ये देउवाले उक्त मत प्राप्त गरे। २ मत बदर भएको थियो। दोस्रो चरणको निर्वाचनमा देउवाले भारी मत ल्याएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापति पदमा निर्वाचित भएका छन् । १३औं महाधिवेशनअन्तर्गत सोमबार राजधानीको राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पछि पार्दै देउवा पार्टीको नवौं सभापति निर्वाचित भएका हुन् ।
आइतबार भएको निर्वाचनमा पार्टी विधानको व्यवस्था अनुसार ५० प्रतिशतभन्दा बढिमत कुनै पनि उम्मेदवारले नपाएपछि सोमबार पुनः निर्वाचन भएको हो । बिहीबारदेखि जारी महाधिवेशनअन्तर्गत नेतृत्व छनोटका लागि सोमबार पुनः भएको निर्वाचनमा आइतबारभन्दा २८ भोट कम ३ हजार १ सय २० महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । आइतबार भएको निर्वाचनमा ३ हजार १सय ४८ महाधिवेशन प्रतिनिधि नेतृत्व चयनमा सहभागि थिए।
दुबै सक्रिय
पूर्वर्निधारीत निर्वाचन कार्यातालीका भन्दा झन्डै एक घन्टा ढिला गरी सुरु भएको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पौडेल र देउवा आइतबार जस्तै सोमबार पनि महाधिवेशन प्रतिनिधि फकाउन निर्वाचन स्थल राष्ट्रिय सभा गृहमा सक्रिय थिए । आफ्नो स्थीति मजबुत बनाउन पौडेलले नेताहरु प्रकाशमान सिंह, सशांक कोइराला, शेखर कोइराला, सुजाता कोइराला, रामशरण महतसहितका नेताहरुलाई साथै लिगेर महाधिवेशन प्रतिनिधिसँग भोट मागी रहेका थिए ।
११मतले पहिलो चरणमा नतिजा आफ्नो पक्षमा पार्न असफल भएका देउवा सोमबार भएको निर्वाचनमा साँझसम्म पनि लाइनमा बसेर भोट मागी रहेका थिए । उनलाई नेता विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्र पाण्डे, प्रकाशशरण महतसहितले साथ दिएका थिए ।
त्यसअघि दोस्रो चरणको निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न दुबै प्रत्यासी बिहानै देखि सक्रियता बढाएका थिए । देउवाभन्दा ४ सय मत कम पाएका पौडेलले सभापतिको दोस्रो चरणको निर्वाचनबाट बाहिरीएका महामन्त्री कृष्णप्रसाद सिटौलालाई घरमा नै पुगेर सहयोग मागेका थिए । सिटौलाले निकटहरुसँग सल्लाह गरेर निर्णय दिने आश्वासनसहित पौडेललाई बिदा गरेका थिए ।
महामन्त्रीका प्रत्यासी शशांक कोइरालासहितका नेताहरुलाई साथै लिगेर पौडेलले देउवा निकट नेता खुमबहादुर खड्कासँग भेटेर सहयोग मागेका थिए । त्यसलगतै ४१ जिल्ला सभापतिले पौडेलको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी, लोकतन्त्र, राष्ट्र एवं अग्रगमनका लागि पौडेलको जित आवश्यक रहेको उल्लेख गरेका थिए ।
त्यस्तै, पार्टी वरिष्ठ नेता देउवाले दोस्रो चरणको निर्वाचनबाट बाहिरीएका सभापतिका प्रत्यासी सिटौलालाई निवासमा पुगेर सहयोग मागेका थिए । सिटौलाले दोस्रो चरणको निर्वाचनमा देउवालाई सहयोग गर्ने आश्वासन दिएको देउवा निकट स्रोतको दाबी छ । तर, सिटौला दोस्रो चरणको निर्वाचन पौडेल र देउवा दुबैको पक्षमा खुलेनन् ।
नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा सभापतिका प्रत्यासी वरिष्ठ नेता देउवाले १हजार ५सय ६४, कार्यवाहक सभापति पौडेलले १हजार १सय ६० र महामन्त्री कृष्णप्रसाद सिटौलाले ३सय २४ मत पाएका थिए । पार्टी विधानको व्यवस्था अनुसार देउवालाई पहिलो चरणमा नेतृत्व लिन ११ मत अपुग भएको थियो भने १सय मत बदर थियो । महाधिवेशनमा ३ हजार १ सय ६१ प्रतिनिधि सहभागी थिए । नागरिकन्युजमा समाचार छ ।