सत्तारुढ एमालले बजेट
सम्बन्धी विधेयकलाई नबढाइसम्म अविश्वासको प्रस्तावलाई संसदमा बढ्न निदने
रणनीति लिएको छ । एमाले संसदीय दलको बुधबार बसेको बैठकले अविश्वास प्रस्तावमाथिको
छलफल अगाडि बजेट सम्बन्धी विधेयक पारित हुनुपर्ने अडानमा कायम रहँदै त्यही अनुसार
अघि बढ्ने निर्णय गरेको छ ।
संसदको कार्यसूचीमा चढिसकेको
बजेटसम्बन्धी तीन वटा विधेयकलाई हटाएर सभामुख ओनसरी घर्ति मगरले अविश्वासको
प्रस्तावलाई कार्यसूचीको पहिलो नम्बरमा राखेपछि एमालेले बिरोध गर्दै आएको छ । बजेट
पारित नभएसम्म एमालेले अन्य विषयलाई संसदमा प्रवेश गर्न नदिने तयारी गरेको छ ।
संसदीय दलको बैठकपछि उपनेता
सुवासचन्द्र नेम्वाङले संसदको स्थापित अभ्यास, नियम र संविधान अनुसार मात्रै संसदको प्रक्रिया अघि बढ्नुपर्ने बताए । स्रोतका
अनुसार अविश्वासको प्रस्तावमा अवरोध नगर्ने तर त्यस अगाडि बजेट सम्बन्धी विधेयक
पारित हुनुपर्ने निष्कर्षमा बैठक पुगेको हो । पूर्व निर्धारित कार्यसूची
हटाउने कुरा संसदको नियमावली र यसअगाडिको अभ्यास भन्दा विपरीत गएर गरेको एमालेको
निष्कर्ष हो ।
संसदलाई ध्रुवीकरणको दिशामा
नलैजाने र दलहरुबीच सहमतिका लागि प्रयास गर्ने समेत बैठकले निर्णय गरेको नेम्वाङले
बताए ।
असार २९ मा बजेट सम्बन्धी
विधेयक पारित गर्ने कार्यसूची रहेकै बेला कांग्रेस र एमाले सहितका दलले
प्रधानमन्त्री केपीशर्मा ओली विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
उक्त प्रस्ताव दर्तापछि सभामुखले बजेट सम्बन्धी कार्यसूची हटाएर अविश्वा
प्रस्तावमाथि छलफल गर्न साउन ६ गते(भोलि बिहीबार) बैठक बोलाएकी छन् । कान्तिपुरमा समाचार छ ।