पञ्चायतकालको दबदबा जारी थियो, जतिबेला नैनसिंह महर
असीग्राम उच्च माध्यमिक विद्यालय डडेलधुरामा माध्यमिक तह पढ्दैमात्र थिए।
सदरमुकामबाट नेविसंघका नेताहरू अनि साथमा शेरबहादुर
देउवा पनि आउँदैछन् भन्ने हल्ला स्कुलमा चलेको थियो। देउवा पञ्चायतविरुद्ध गतिविधि
गर्छन्, नेपाली कांग्रेसमा राजनीति गर्छन् भन्ने महरले सुन्दै आएका रहेछन्।
देउवाको प्रभाव डडेलधुराभरि थियो, त्यसमाथि देउवा असीग्राममै
पढेका थिए। देउवाको पञ्चायतविरोधी गतिविधिले महरलाई त्यतिबेला नेविसंघको सदस्य बन्न
प्रेरित गरेको रहेछ। पछि बहुदल आएपछि गाउँकै दाइहरूको मद्दत लिँदै महर नेविसंघ र कांग्रेसका
गतिविधिमा सक्रिय बन्न थालेका थिए।
तीन दसकअगाडि नेविसंघको सदस्य बनेका ती महरलाई नेपाल
विद्यार्थी संघको शीर्षस्थानमा पुग्न भने पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्र सबै झेल्दा पनि कठिन नै पर्यो। संगठनमा
सदस्यता लिँदादेखि देउवासँग निकट रहे, महर देउवा खेमाबाट नेपाल विद्यार्थी संघको एघारौं
महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका छन्।
महरले बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणामा
१४९२ मत ल्याए। उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याए।
२०६५ सालमा चितवन भएको दसौं महाधिवेशनमा प्रदीप
पौडेल अध्यक्ष निर्वाचित भएका थिए। त्यसपछाडि ९ वर्षदेखि नेविसंघको महाधिवेशन हुन सकेको
थिएन। हरेक दुई दुई वर्ष महाधिवेशन हुनुपर्नेमा पार्टीभित्रका गुट उपपगुट र नेताहरूको असीमित चाहनाले सँधै पछाडि धकेलिँदै
गएको थियो।
तत्कालीन पार्टी सभापति सुशील कोइरालाले महाधिवेशन
समयमा गर्न नसकेकै निहुँमा पौडेललाई अध्यक्षबाट हटाएर रञ्जीत कर्णलाई ल्याए। उनले सातपटक
सम्म चुनाव सारेका थिए। देउवा सभापति हुनुअगाडि भन्थे, म सभापति भएँ भने सुशील कोइरालाले गर्न नसकेका सबै
काम गर्छु। सभापति भएको पाँच महिनापछि नेविसंघ महाधिवेशन गर्नलाग्दा देउवाले
निर्वाचनै हम्मेहम्मे पर्यो। बिहीबारबाट नेविसंघको चुनाव गराउने चुनौती देउवाले पार
लगाएका छन्।
२०३१ साल साउन १४ गते डडेलधुराको बिकट गाविस भोगेश्वर ९ मा जन्मिएका महर पञ्चायतकालमै नेविसंघमा लागे
पनि उनलाई त्यही नेविसंघको अध्यक्ष बन्न ४२ वर्षमा मात्र भाग्य खुल्यो।
अध्यक्ष निर्वाचित भएपछि कार्यकर्ता, शुभेच्छुकले घेरिँदा
र जयजयकार सुनिरहँदा महर अबिरले रंगिएको मुहारमा उत्साह दौडिएको देखिन्थ्यो। महर अहिले
विद्यार्थी छैनन्, तर विद्यार्थी संगठनको अध्यक्ष हुँदा कम्ती खुसी छैनन्। उनलाई
आफ्नो उमेरको हेक्का रहेछ। स्वभाविक हो मेरो उमेर बढी भएको हो, तर नेविसंघको नेतृत्वमा
बसेर नेपाली राजनीति र विद्यार्थी आन्दोलनलाई
अघि बढाउने दृष्टिकोण लिएको कारण मलाई यो उमेरले छेक्दैन, महरदले सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा
सेतोपाटीसँग भने, मसँग दृष्टिकोण छ, नेविसंघको अध्यक्ष हुनु थियो, त्यो पूराभएको छ।
अब केही गर्छु। आफ्नो विजयमा उनले पार्टी सभापति शेरबहादुर देउवालाई
सम्झे। नेविसंघ डडेलधुराको अध्यक्ष हुँदै, केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष भएर नेपाल विद्यार्थी संघमा
राजनीति गर्ने अवसर प्राप्त हुनुमा देउवाको प्रेरणा रहेको सुनाए। शेरबहादुर देउवाको
गृहजिल्लाबाट राजनीति सुरू गरेको कारण, उहाँको कांग्रेसमा प्रभाव,
राजनीतिको प्रभाव देखेर पनि
म राजनीतिमा आकर्षित भइरहेँ, उनले भने।
![]()
महर नेविसंघ डडेल्धुराको पूर्वअध्यक्ष, डडेल्धुराबाट निर्वाचित
नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रीय
सदस्य, केन्द्रीय उपाध्यक्ष रही संघको राजनीतिमा तीन दशकदेखि सक्रिय छन्।
पत्रकारिता पृष्ठभूमिका महरले लेखक र सम्पादकका
रुपमा पनि आफ्नो परिचय बनाइसकेका छन्। शैक्षिक
प्रणाली, नेपाली कांग्रेस तथा भ्रातृ संगठनका साथै समयसामयिक विषयमा उनले लेख रचना सार्वजनिक गर्ने
गरेका छन्। महरले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा एलएलबी गरेका छन्। महर स्कुल अफ
डेमोक्रेसीको अध्यक्ष समेत हुन्।
ग्रामीण जनजीवनदेखि काठमाडौंसम्मको यात्रामा स्कुले
कार्यकर्ता हुँदै केन्द्रीय अध्यक्ष हुँदा महरले राजनीतिका कठिन दिन र भोगाइ बिर्सेका
छैनन्। नौ वर्षदेखि महाधिवेशन हुन सकेको थिएन। यसबीचमा धरासायी बनेको विद्यार्थी संगठनलाई
ऊर्जा दिन आफ्नो भूमिका महरले खोजेका थिए। देउवा समूहभित्रैबाट जितजंग बस्नेतको चाहनाले
झन्डैझन्डै उनी पछाडि धकेलिसकेका हुन्। तर, देउवाको अतिनिकटताले उनलाई नै नेविसंघको सेनापति
रोजियो।
अध्यक्ष बनेपछि विद्यार्थी राजनीतिमार्फत शिक्षाको
गुणस्तर सुधार्ने आफ्नो पहिलो प्राथमिकता रहेको उनले सुनाए। संगठनलाई चुस्त बनाउने
अर्को चुनौती छ। विद्यार्थी राजनीतिमार्फत देशमा जुन किसिमले शिक्षाको गुणस्तर घटेको
छ, जसरी गरिब र धनीबीचमा
शिक्षाको खाडल छ, सबैका लागि समान शिक्षा पुर्याउने आन्दोलनमा म अग्रपंक्तिमा
रहने छु, उनले भने।
उनलाई लागेको छ, नेविसंघ गठन भएको बेला २०२७ सालमा एउटामात्र विश्वविद्यालय
थियो देशमा, अहिले दस वटा पुगेका छन्। ९६ लाखभन्दा बढी विद्यार्थी छन्। गुणस्तरीय शिक्षाको
कुरा उठेको छ, सबैका लागि शिक्षा भन्ने कुरा उठेको छ। मैले नैतिकतामा आधारित
शिक्षाको कुरा गरेको छु। हाइस्कुलमा विद्यार्थी राजनीति गर्नुहुन्न भन्ने प्रस्ताव
मैले नै गरेकोछु, उनलेभने, अरु विद्यार्थी संगठनलाई पनि मेरो मुद्दामा डोर्याउनु
छ



