एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचन र संविधान संशोधनमा कुनै छलफल नगरेको गुनासो सार्वजनिक मञ्चमै गर्दै आएका थिए ।
ओलीको गुनासोको जवाफ सरकार र सत्तारुढ पार्टीका नेताहरुबाट आएको थिएन । तर एमालेले शनिबार गरेको चियापानमा सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता ओली चुनावी सल्लाह गरे ।
एमालेको निम्तो मान्न आएका देउवा र ओलीलाई पत्रकार सोधे, चुनाव समयमा हुन्छ ? सँगै रहेका देउवालाई ओलीले सोधे, निर्वाचन त गर्नैपर्छ होइन, सरकारको धारणा के छ ? देउवाले संक्षिप्त जवाफ दिए, निर्वाचन हुन्छ, हुन्छ हुन्छ । गर्ने गर्ने, गर्ने ।
देउवाले संविधान संशोधनका लागि एमालेले सहयोग गर्ने विश्वास व्यक्त गरे । एमालेले संविधान संशोधन आवश्यक छैन भनेको छैन, देउवाले भने, उहाँहरुले औचित्य भनिरहनुभएको छ, तर (संविधान संशोधनमा सहमति) मिल्छ ।
राजनीतिक निकासका लागि एक हुने सन्देश देउवा, ओलीसहित कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, भीम रावललगायतले एक साथ दिएका थिए । ओलीले दुई दिनअघि कान्तिपुरसँग पनि आफूहरु संविधान संशोधनको बाधक नभएको बताउँदै दलहरुबीच टुटेको सम्बन्ध जोड्नुपर्ने बताएका थिए ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ब्रिक्स सम्मेलनमा भारत गएकाले पार्टीका नेता नारायणकाजी श्रेष्ठ चियापानमा उपस्थित थिए ।
सत्ताबाट बाहिरिएपछि सत्तारुढ माओवादी र कांग्रेसप्रति आक्रामक ओलीले चियापानमा भने राजनीतिक भाषा नबोल्ने बताए । शुभकामना आदानप्रदानको समयमा म राजनीतिक पक्ष विपक्षको भाषा, शब्द, शैलि म प्रयोग गर्न चाहन्न, उनले भने, हामीले सबै विचारका साथीहरुलाई बोलाएका छौं ।
ओलीले संविधान संशोधनका लागि एमालेले कुनै आग्रह पालेर नबस्ने बताए । संविधान संशोधन औचित्य र आवश्यकताका आधारमा गर्न सकिने कुरा हो, उनले भने, हामी कुनै आग्रह लिएर बस्दैनौं । उनले आवश्यकता र औचित्य भने छलफलमा आउने उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले संविधान कार्यान्वयनमा एकता देखाउनुपर्ने बताए । उनले प्रमुख तीन पार्टी एक नभएसम्म चुनाव गर्दै संविधान कार्यान्वयन हुन नसक्ने बताए ।
भट्टराईले राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था पनि राख्न सुझाव दिए ।

चियापानमा सभामुख ओनसरी घर्ती, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेकपा मालेका महासचिव सीपी मैनाली, प्रधानसेनापति राजेन्द्र क्षेत्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका सांसदहरु, विदेशी कुटनीतिक निकायका प्रमुखहरु, उच्च सरकारी अधिकारीहरु, सुरक्षा निकायका उच्च अधिकारीहरु, कलाकारहरु थिए ।
चियापानमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष बृषेशचन्द्र लाललगायतका मधेस केन्द्रित दलका नेताहरु पनि उपस्थित थिए ।
एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीले सुरु गरेको चियापान गत वर्ष भने भूकम्पका कारण गरिएको थिएन ।
चियापानमा विभिन्न जातजातिका भेषभूसामा सजिएका कलाकारले झाँकी प्रस्तुत गरेका थिए ।
आगन्तुकलाई अध्यक्ष ओलीसहित पार्टीका वरिष्ठ नेताहरुले स्वागत गरेका थिए ।