सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनर्संरचनाको विषय तत्काल कुरा नमिले पुरानै संरचनामा भएपनि स्थानीय निकायको निर्वाचन हुने दाबी गरेका छन् ।
बनेपामा कांग्रेस नगर सभापतिको राष्ट्रिय सम्मेलनपछि आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तह पुनर्संरचनामा कुरा नमिले पुरानै संरचना वा इलाका आधारमा भएपनि निर्वाचन गर्ने दाबी गरे ।
पुनर्संरचनामा कुरा मिल्ला जस्तो छ, नमिले पुरानै संरचना वा इलाक आधारमा भएपनि निर्वाचन गर्ने पार्टीको निर्णय छ, देउवाले भने, चुनाव जसरी पनि हुन्छ । उनले स्थानीय तहको परिणामले प्रान्तीय र राष्ट्रियसभाको निर्वाचन तय गर्ने भएकाले आजैबाट तयारीमा लाग्न निर्देशन दिए ।
नेता कृष्णप्रसाद सिटौलाले भने संघीयता अनुसार चुनावमा जान नेतृत्वले खुट्टा कमाएको भान भएको भन्दै त्यो चिर्न आग्रह गरे ।
केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले २०७४ माघसम्म सबै तहको निर्वाचन नभए संसद दुर्घटनामा जाने तर्क गरे ।
केन्द्रीय सदस्य समेत रहेका शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मधेश र थरुहटको समस्या समाधानको लागि कांग्रेसले नै पहल लिनुपर्ने बताए । केन्द्रीय सदस्यहरु महेन्द्र यादव, डिला संग्रौला, सुजता परियार लगायतका वक्ताले सरकारले चैतसम्ममा कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गरिछाड्ने दाबी गरेका थिए ।
मधेसीसँग वार्ता : महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले असन्तुष्ट मधेसी दलहरुसँग वार्ता गरेर भएपनि चैतमा स्थानीय तहको निर्वाचन गरी छाड्ने दाबी गरेका छन् । नगर सभापति सम्मेलनको समापनमा बोल्दै उनले एमाले लगायतका दलहरुसँग वार्ता भइरहेको बताए ।
उनले संविधान कार्यान्वयनको जिम्मेवारी कांग्रेसको काँधमा भएको बताए ।
कान्तिपुरबाट