एमाले सचिव योगेश भट्टराईले संविधान संशोधनमा अवैध गर्भाधारण भएको टिप्पणी गरेका छन् ।
कञ्चनजंघा हिरक महोत्सव समापन कार्यक्रममा सहभागी हुन ताप्लेजुङ आएका उनले मधेसका जनता, आफ्नै पार्टीका नेता तथा कार्यकर्ता, सत्तारुढ दलका सांसद र विपक्षी समेतले नरुचाएको प्रस्ताव ल्याउन लागिएको दाबी गरे ।
म तराईमा १५ दिन बसें । अंगीकृतलाई कसैले पनि संवैधानिक पदमा पुर्याउनुपर्छ भनेका छैनन् । तर सरकारले जबर्जस्ती ल्याउन लागेको छ, भट्टराईले थपे, यो भारतबाट आएको प्रस्तावलाई हाम्रो पार्टीले कुनै पनि हालतमा पारित हुन दिँदैन । अब पनि जनमतको कदर नगरे कहिले गर्ने भन्दै उनले जबर्जस्ती नगर्न पनि सरकारलाई सुझाएका छन् ।
५ नम्बर प्रदेशलाई टुक्र्याएर ४ र ३ नम्बरमा मिसाउनु पर्ने कुराको पुष्ट्याइ दिन आग्रह गर्दै उनले जनप्रतिनिधिको भावना बुझ्न आग्रह गरेका छन् । उनले ६० प्रतिशत सामान आयात हुने भारतबाट एजेण्डाहरु पनि ल्याइएकोमा आपत्ति जनाउँदै कलंकको टिका नलगाउन प्रचण्डलाई आग्रह गरेका छन् ।
साम्प्रदायिकता भड्काउन खोजेको आरोप लगाउँदै उनले जातीय र धार्मिक विद्वेष नफैलाउन आग्रह गरे । आफ्नै पार्टी र संसदीय दलमा पारित गराउन नसक्ने विषय प्रतिपक्षीसँग छलफल गर्न खोज्नुको कुनै तुक नभएको उनले बताएका छन् ।
कान्तिपुरबाट