टीकाराम तामाङ
(काठमाडौँ) उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई फेरि धक्का लागेको छ ।
पार्टी नेतृत्वसँग सैद्धान्तिक मतभेद भएको भन्दै नौ जना नेताले पार्टी परित्याग गरेपछि फोरमलाई धक्का लागेको हो । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरण गर्ने चर्चा र बहस चलिरहेकै बेला फोरम नेपालमा ध्रुवीकरण बढ्दै गएको छ । यसअघि पनि केन्द्रीय नेताहरु रिजवान अन्सारी, वीरबहादुर लामा, विजय सुब्बा लगायतका नेताहरुले पार्टी परित्याग गरेका थिए ।
पार्टी परित्याग गरेका टोपबहादुर ओलीले पार्टी नेतृत्वसँग सैद्धान्तिक मतभेद भएपछि आफूहरुले पार्टी छाडेको जानकारी दिए । उनका अनुसार पाँचजना केन्द्रीय सदस्य र चारजना वैकल्पिक केन्द्रीय सदस्यहरुको राजीनामा पत्र पार्टी नेतृत्वसमक्ष पठाइएको छ ।
ओलीका अनुसार केन्द्रीय सदस्यहरु वीरेन्द्रबहादुर बोगटी, मानबहादुर धामी, बलवीर नेपाली, ओमकृष्ण प्रसाईले पार्टी छाडेका छन् । त्यस्तै, वैकल्पिक केन्द्रीय सदस्यहरु हेमन्त मान्डव्य, राजेन्द्र खनाल, प्रकाश अधिकारी र शंकर रोकामगरले फोरम नेपाल त्यागेका छन् ।
संविधानसभाबाट जारी संविधान स्वीकार गरेर जाने र संविधान नै अस्वीकार गर्ने द्वन्द्वका कारण आफूहरु पार्टी परित्याग गर्ने बाध्य भएको उनले प्रष्ट्याए । अध्यक्ष यादव, वरिष्ठ नेता अशोक राई, सह अध्यक्ष राजेन्द्र श्रेष्ठ गणितीय आधारमा जारी भएको संविधानले उत्पीडित जनताका अधिकार समेट्न नसकेको भन्दै अस्वीकार गर्ने पक्षमा छन् ।
संविधान संशोधन गरेर माग सम्बोधन गरेर जानु उत्तम हुनेमा पार्टी नेतृत्वले कम्प्रमाइज्ड गर्न नचाहेको उनले आरोप लगाए । उनले संविधानको उपलब्धिलाई रक्षा गरेर अघि बढ्ने पार्टीसँग आफूहरुको सहकार्य हुनसक्ने समेत बताए । उनले भने, अहिले नै कुन पार्टीमा प्रवेश गर्ने भन्ने एकिन छैन, केही दिनमा छलफल गरेर संवैधानिक बाटो अंगालेर जाने पार्टीसँग सहकार्य गर्नेछौं ।
पार्टीका केन्द्रीय महासचिव रणध्जव कन्दङ्वाले पार्टीभित्र असन्तुष्टि रहेको स्वीकार गर्दै उनीहरुले पार्टी छाडिनसकेको बताए ।
कान्तिपुरबाट