प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव, तीन वटा प्रदेशमा असार १४ मै हुने

सरकारले प्रदेश नम्बर-२ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तेस्रो चरणमा तोक्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आग्रहअनुसार प्रदेश नम्बर-२ मा स्थानीय तहको निर्वाचन असोजमा तोक्ने निर्णय गरेको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए ।
बैठकले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता यही असार २ गतेको सट्टा असार ४ गते सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।
दोस्रो चरणको निर्वाचनमा राजपाको सहभागिताका लागि उम्मेदवार मनोनयनको मिति दुई दिन पछाडि सारेको जनाइएको छ ।
प्रदेश नम्बर-१, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले बिहीबारै प्रदेश नम्बर-२ को निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका थिए ।
प्रदेश नम्बर-३, ४ र ६ मा स्थानीय तहको निर्वाचन पहिलो चरणमा गत वैशाख ३१ गते सम्पन्न भइसकेको छ । रासस


सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशबाहेक अरु तीन प्रदेशमा असार १४ गते निर्वाचन गर्ने गरी सहमति भएको छ ।
दुई नम्बर प्रदेशमा भने अब असार १४ गते निर्वाचन नहुने भएको छ । अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्नेछ । प्रदेश नम्बर २ को चुनाव सारेर असोज २ गते कुरा भयो एक नेताले भनेका छन् ।
असार १४ गते निर्वाचन हुने तीन वटा १, ५ र ७ प्रदेशमा भोलि हुने मनोनयन पनि दुई दिन पर सारिने भएको छ । यसबारे भने निर्वाचन आयोगसँग छलफल गरेर मात्र तय गरिने जनाइएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेता र राजपाका नेताहरुको बैठकले यो निर्णय गरेको हो ।
संविधान संशोधनको माग गर्दै आएको राजपाका केही माग सम्बोधन गराउन सत्तारुढ दलका नेताहरुले छलफल गरेका हुन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहभागी थिए ।
बैठकमा राजपाका अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र यादवलगायतका नेता सहभागी थिए । इमेजखबरमा समाचार छ ।