दोस्रो चरणको स्थानीय निर्वाचन ! ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता सहभागी हुँदै
आषाढ़ १३ गते, २०७४ मा प्रकाशित
दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् तीनओटा प्रदेशमा बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
निर्वाचन आयोगले निर्वाचन हुने प्रदेश नम्बर-१, ५ र ७ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार निर्वाचन हुँदैछ ।
तीमध्ये १ महानगरपालिका, ७ उपमहानगपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका रहेका छन् । सबै स्थानीय तहमा परी कुल २८७४ वडा समावेश छन् ।
निर्वाचनमा कुल ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता सहभागी हुँदैछन् ।
प्रदेश नम्बर-१ मा पर्ने १४ जिल्लामा पर्ने १३७ स्थानीय तहमा एक महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका रहेका छन् । यो प्रदेशमा २६ लाख ७४ हजार ५ सय ६३ मतदाता छन् ।
त्यसैगरी, प्रदेश नम्बर ५ मा पर्ने १२ जिल्लामा जम्मा १०९ स्थानीय तह छन् । चार उपमहानगरपालिका, ३२ नगरपालिका, ७३ गाउँपालिका रहेको यो प्रदेशमा २४ लाख ५४ हजार ४ सय ८८ मतदाता रहेका छन् ।
त्यस्तै, प्रदेश नम्बर ७ पर्ने ९ जिल्लामा जम्मा ८८ स्थानीय तह छन् । एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका रहेको यो प्रदेशमा १३ लाख ३ हजार ७ सय १४ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।
निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएका छन् । निर्वाचनबाट १५ हजार ३८ जना प्रतिनिधि चुनिनेछन् ।
चुनावका लागि ४ हजार ५ सय ८१ मतदानस्थल, ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको छ । इमेजखबरमा समाचार छ ।