दोस्रो चरणको स्थानीय निर्वाचन उत्साहजनक शन्तिपूर्ण रुपमा सम्पन्न, तीन वटा प्रदेशको निर्वाचनमा ७०.५ प्रतिशत मत खस्यो

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि उत्साहजनक मतदान भएको छ । निर्वाचन आयोगले बुधबार भएको तीन वटा प्रदेशको निर्वाचनमा ७० दशमलव ५ प्रतिशत मत खसेको जनाएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान भएको हो । 
दोस्रो चरणको निर्वाचनमा ७०.५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान सकिएलगत्तै आयोग मुख्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणमा पनि उत्साहजनक मतदान भएको बताए । प्रारम्भिक जानकारीअनुसार कम्तिमा ७०.५ प्रतिशत मतदान भएको छ, उनले भने, अझै बढ्न सक्नेछ ।
प्रमुख निर्वाचन आयुक्त यादवका अनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मतदान भएको छ । 
बझाङको जयपृथ्वी नगरपालिका- २ स्थित पाण्डु उच्च मावि मतदान केन्द्रमाबाहेक सबै ठाउँमा मतदान भएको आयोगले बताएको छ । वारेसमार्फत मत दिने/नदिने विषयमा कांग्रेस-एमालेबीच विवाद हुँदा मतगणना रोकिएको हो ।
सोलुखुम्बुको नेचासल्यानस्थित तिङ्लामा एक मत पनि नखसेको र नवलपरासीको सरावलस्थित एक मतदान केन्द्रमा दुई मतमात्रै खसे पनि पुन: निर्वाचन नहुने आयोगले जनाएको छ । कर्मचारीहरु समयमै पुग्नुभएको थियो, प्रमुख निर्वाचन आयुक्तले भने, मतदाताले मत नदिएकै कारण निर्वाचनका बाँकी प्रक्रिया रोकिंदैन ।
यादवले वर्षाका कारण केही केन्द्रमा ढिला मतदान भए पनि सबै मतदान केन्द्रमा उत्साहजनकरुपमा मतदान भएको बताए ।
आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुगेपछि राजनीतिक दलहरुसँग परामर्शपछि मतगणना सुरु हुने जनाएको छ । प्रमुख निर्वाचन आयुक्तले निर्वाचन परिणामप्रति विश्वास गर्न राजनीतिक दल उम्मेदवारप्रति आग्रह गरेका छन् । उनले संयमता अपनाउन र अलोकतान्त्रिक कार्य नगर्न सार्वजनिक अपिल गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्तले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिनअघिको पत्रकार सम्मेलनबारे जिज्ञासा राखेको बताए । कान्तिपुरमा समाचार छ ।