सिद्धाराका मावि पढ्ने विद्यार्थीहरु डेरा लिएर बस्न वाध्य

बहखोरस्थित जनजागृति माविमा पढ्ने विद्यार्थी आफ्नो समस्याबारे गुनासो पोख्दै 
वीरेन्द्र केसी कान्तिपुर
सिद्धारा, अर्घाखाँची  । शीतगंगा १० स्थित जनजागृति मावि कक्षा ९ का किरण सारू दैनिक स्कुल आउजाउ गर्न सक्दैनन् । पाँकुरी घरदेखि बहखोरको स्कुलसम्म घनघोर जंगल छिचोल्नुपर्छ । एक्लै हिँड्न जंगली जनावरको त्रास छ । विद्यालय पुग्नै करिब ३ घण्टा लाग्छ । 
घरदेखि १५ मिनेटमा पुगिने पाँकुरी अधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । त्यसपछि मावि पढ्न बहखोर आउनुपरेको हो । सुरुमा त दैनिक ६ घण्टा पैदल हिँडेर स्कुल आउजाउ गरें । ‘धेरैपटक भालुले लखेट्यो,’ उनले भनिन्, ‘चिच्याउँदै दौडिएर भागेर बचें । वर्षामा बाढीपहिरोको डर उस्तै ।’ स्कुल पनि जंगलमै छ । नजिकै धेरै घर छैनन् । ८ घण्टा पर उपल्लो सिद्धारामा कोठा भाडामा लिएर बसेकी छन् । महिनाको २ सय रुपैयाँ कोठाभाडा तिर्नुपर्छ । एउटै कक्षामा पढ्ने सारू, कल्पना पल्ली र शान्ता घर्ती उक्त कोठामा बस्छन् ।
त्यसो त विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव पौडेलले बाबुको स्मृतिमा छात्रवास बनाइदिएका छन् । तर पर्याप्त कोठा नहुँदा बाहिर पनि बस्नु पर्छ । साथीहरू आठ कक्षा उत्तीर्णपछि धेरैले बीचमा पढाइ छाडे । केही भर्ना भए तर नियमित स्कुल आएनन् । सानै उमेरमा छात्राले विवाह गरेर घरमा काम गर्ने र छात्रचाहिँ भारत र अन्य देशमा रोजगारीमा गएको उनले बताइन् । ‘मेरा बाबुआमाले पढ्न सहयोग गर्नुभएको छ,’ उनले भनिन्, ‘पढेर ठूलो मान्छे बन्ने हुँ भनेकी छु ।’
कक्षा १२ मा पढ्ने बाटुलेका आशिष परियार घर छाडेरै पढ्न लागेको ७ वर्ष भयो । कक्षा सातसम्म आफन्तकहाँ र त्यसपछि छात्रावास बसेका हुन् । प्राथमिकत तहसम्म गाउँकै स्कुलमा पढे । ६ कक्षामा भर्ना भएपछि घरबाट आउन–जान आठ घण्टा समय लाग्थ्यो । वर्षामा कुसुम खोला तर्न नसक्दा पढाइछुट्यो । खोलामा बाढीको डरत्रास । हिउँदमा भालुको उस्तै डर । चार पटकसम्म भालुले लखेटेको उनलाई सम्झना छ । छात्रावासमा बस्न पनि सहज छैन । १६ कोठा छन् । त्यसमा शिक्षक पनि बस्छन् । एउटा कोठामा ६ जनासम्म बस्नुपर्छ । पढ्न, खाना खान, भाँडा माझ्न पनि गाह्रो हुन्छ । पानी प्रशस्त छैन । बाहिरबाट बोकेर ल्याउनुपर्छ । शौचालयमा चुकुल नभएर उस्तै समस्या हुने गरेको उनले बताइन् ।
मावि पढ्न घण्टाैं पैदल हिँड्नुपर्ने, वर्षामा खोलाबाढीले नियमित कक्षा छुट्ने, जंगली जनावरको त्रास र गरिबीको कारण सँगै पढेका साथीले बीचमै पढाइ छाडेको परियारले बताए । ‘अभिभावकको चेतना छैन,’ उनले भने, ‘उनीहरूलाई पढाइ के हो भन्ने नै थाहा छैन र नोकरी गर्न विदेश पठाउने चलन छ ।’ भौगोलिक जटिलताका कारण बस्ती छरिएका छन् । बस्तीभन्दा चौगुना जंगल छ । चितुवा, भालुको त्रास छ । अग्ला पहाड र चुचुरासहितको जंगल छ । एउटा गाउँबाट अर्काे घुमेर दुई/तीन दिनमा भ्याइँदैन । मावि पढ्न घरबाट छ/सात घण्टा दैनिक पैदल हिँड्नुपर्ने भएकाले धेरैले प्राथमिक तहपछि पढाइ छाड्ने गरेको उनले बताए ।
कक्षा आठमा पढ्ने जीवन विक दैनिक पाँच घण्टा पैदल हिँड्छन् । बिहान अढाई घण्टा हिँडेर स्कुल भेटाउँछन् । बेलुका त्यति नै समयमा घर पुग्छन् । ‘वर्षाभर पढाइ छुट्छ,’ उनले भने, ‘खोलामा बाढी आउँछ, तर्न सकिँदैन । पुल छैन, पहिरोको उस्तै डर हुन्छ । घरमै बस्छु ।’ कक्षा छुटेपछि परीक्षामा उत्तर लेख्न सकस उस्तै हुन्छ । हिउँदमा भने प्राय: हाजिर हुने गरेको उनले बताए । ‘घरबाट स्कुल आउजाउ गर्न साथीहरू एकैपटक हिँड्छौं,’ उनले भने, ‘दिउँसै भालुले कहाँ आक्रमण गर्छ थाहा हुन्न । ढिला भएर एक्लै भए बीचबाटै घर फर्कन्छु ।’ धेरै पटक भालुको डरले आधा बाटोबाटै घर फर्किएको उनले सुनाए । कक्षा ६ मा पढ्ने गोपाल नेपाली घर पल्तिरको काठेखोला पुल तर्न नसक्दा वर्षामा स्कुल आउँदैनन् । ‘हिउँद लागेपछि स्कुल आउन पाउँदा मन खुसी हुन्छ,’ उनले भने, ‘बिहान आठ बजे नै घरबाट नहिँडे १० बजे स्कुल पुगिँदैन ।’
छोराछोरीलाई होस्टल र बाहिर कोठा लिएर पढाउँदा खर्चले थेग्न नसकेपछि गरिब परिवारले बीचमै पढाइ छाड्न बाध्य भएको अभिभावकहरू बताउँछन् । एउटा गरिबी र अर्काे नजिक स्कुल नहुनाले धेरैलेपढ्न पाउँदैनन् ।

अन्य समाचारहरु