सरकार प्रती पुर्ण विश्वास छ समर्थन फिर्ता लिदैनौ :महतो

काठमाडौँ , राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरूको पूर्ण विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन्।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारलाई दिएको समर्थन अहिले फिर्ता हुँदैन । फिर्ता लिनेबारे हाम्रो पार्टीले अहिलेसम्म कुनै योजना बनाएको छैन । यो सरकार दुईतिहाइको हो। संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं । हामी अहिले पर्ख र हेरको अवस्थामा छौं।’

साक्षात्कारमा बोल्दै नेता महतोले भने,‘हामी सरकारको रवैया र व्यवहार हेरेर अघि बढ्छौं। सरकार जसरी अघि बढ्छ, हामी पनि त्यसैगरी अगाडि बढ्छौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे समय आएपछि योजना बन्ला। तर अहिले हाम्रो कुनै योजना छैन ।’

महतोले आफ्नो पार्टी अहिले सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे।
उनले भने,‘हामी सरकारमा जाने कुनै सम्भावना छैन।’

सरकारले संविधान संशोधन गर्छ भन्नेमा आफूहरू पूर्णरूपमा आशावादी भएकोले यदि संशोधन नगरे त्यसपछि आफूहरूले दबाब दिने बताए। महतोले  थपे,‘अहिले नै दबाब दिने बेला भएको छैन।’

वर्तमान सरकारले काम नगरेकोमा आफूहरूको असन्तुष्टि रहेको उनको भनाइ छ । उनले भने,‘सरकारसँग दुईतिहाइ छ । हामी हाम्रो माग र सवालहरू पूरा गराउनको लागि दबाब दिइरहन्छौं।

‘भर्खरैमात्रै पनि हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिमाइण्डर गराएका छौं । मुलुकको समस्या समाधान गर्नुहोस्। दलित, आदिवासी, जनजाति, मधेशी जनताको सवालहरू संविधान संशोधनमार्फत् हल गर्नुहोस् भनेर सुझाव दिएका  छौं’, उनले भने। सेतोपाटी डट्कममा खबर छ