काठमाडौं, संसदको तल्लो सदन प्रतिनिधिसभामा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार संघीय संसद भवन नयाँबानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा राजधानी काठमाडौंमा बिग्रेको सडकको अवस्थादेखि सरकारले जनतामाथि थोपरेको करको भारकाबारेमा सांसदहरुले आफ्ना धारणा राखेका हुन् ।
काठमाडौंमा बिग्रिएर लथालिंग भएको सडकको दूरावस्थाप्रति व्यंग्य गर्दै नेपाली कांग्रेसका सांसद गगन थापाले बिम्स्टेक सम्मेलनका लागि काठमाडौं आउने विदेशी पाहुनालाई एउटै होटलमा नराख्न सरकारलाई आग्रह गरे । ‘विदेशी पाहुनालाई फरक–फरक होटलमा राखे काठमाडौंमा सडकका खाल्डाखुल्डी पुरिने थियो’ भन्दै उनले सरकारी कामप्रति व्यंग्य गरे ।
पाहुनाहरुले सडकमा भएको खाल्डो, हिलो देखे भने इज्जत जाने मान्यतालाई आत्मसाथ गर्दै सरकारले रातारात खाल्डो पुर्ने र बेथिति हटाउने भएकाले आफूले यस्तो सुझाव दिएको उनको भनाइ छ ,यसैगरी, सरकारले जथाभावी कर लिएकामा आपत्ति जनाउँदै सांसद हृदयेश त्रिपाठीले देशभरि करविरुद्धको आन्दोलन सुरु भइसकेको र सरकारले यसलाई बेलैमा नसम्हाले भयावह अवस्था आउने चेतावनी दिए ।
स्याङ्जामा ज्योतिषलाई पनि कर तिराइएको, परेवा, कुखुरा, साइकल जे देख्यो, त्यसमै कर लगाउने काम गरिएको भन्दै उनले आक्रोश पोखे ,करवृद्धिका कारण संघीय व्यवस्था बदनाम हुने भन्दै एउटा समूह खुसी भएको भन्दै सांसद त्रिपाठीले करविरुद्धको आन्दोलनले संघीय व्यवस्थामात्र नभइ अरु धेरै चिज नस्ट हुने चेतावनी दिए ।
मनोमानी ढंगले करवृद्धि गर्दा निर्वाचनको उपहार नै यही हो भन्ने सन्देश गएको उनको भनाइ थियो ।
स्थानीय तह शक्तिशाली र प्रदेशलाई अधिकारविहीन बनाउँदाको नतिजा अहिले निस्किएको निष्कर्ष पनि उनको थियो ।
यस्तै, कांग्रेस सांसद डिला संग्रौलाले जन्मदर्ता र मृत्युदर्ताको सिफारिस गर्दा १००० रुपैयाँ लिनु न्यायोचित नभएको भन्दै ‘यस्तो महँगो कर जनताले कहाँबाट ल्याएर तिर्ने ?’ भन्दै प्रश्न गरिन् ।
राप्रपा सांसद राजेन्द्र लिङ्देनले सरकारले इन्टरनेट सेवामा लाग्ने कर फिर्ता लिएको घोषणा गरे पनि मोबाइल डाटा प्याकमा ३० प्रतिशतसम्म करवृद्धि कायमै रहेको बताए ।
कांग्रेस सांसद मोहद अफ्ताव आलमले भने सरकारले मधेसमाथि भेदभाव गरेको आरोप लगाए । उनले मधेसी नागरिक पनि नेपाली हुन् भन्ने सोच सरकारमा नभएको आरोप लगाए । इमेज खबरमा समाचर छ



